काठमाडौं । प्रीमनसुन जगाउँदै अबको एकसाता देशव्यापी रूपमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि बुलेटिनअनुसार देशका सातै प्रदेशमा आउँदो साता बदली र वर्षाको सम्भावना रहेको छ ।
वर्षा शुक्रवारदेखि राजधानी उपत्यका लगायत मुलुकका कतिपय भागमा आरम्भ भएको छ । साताका अधिकांश दिनमा हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने भएको हो । तराईका भूभागमा साताको शुरु र अन्त्यमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ ।
सो अवधिका केही स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा हुनेछ । त्यस्तै साताको मध्यमा आंशिक बदली रही सामान्य मौसम रहने जनाइएको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा साताको शुरु र अन्त्यताका थोरै स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुनेछ ।
त्यसैगरी प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साताको शुरु र अन्त्यको समयमा थोरै स्थानमा मेघ गर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना रहेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया