काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक गतिरोध अन्त्य गर्न सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको ‘सर्वदलीय बैठक’मा राजनीतिक संकटले कसैलाई फाइदा नपुग्ने भन्दै गतिरोधलाई निकासका लागि पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको हो ।
बैठकपछि बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल अगाडि बढाउन आग्रह गरेको बताए । उनले संसदलाई बिजनेश दिएर प्रभावकारी बनाउन पनि सरकारसँग माग गरेको बताए।
त्यस्तै बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । उनले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या समाधान गर्न सुझाव मागेको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।
नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेश गरेको जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसदमा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत बताए । “बैठकमा संसद्ले जे गर्नु पर्ने थियो त्यो नगरेको गुनासो प्रधानमन्त्रीले व्यक्त गर्नुभयो”, उनले भने ।
बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी छन् । बैठकमा नेकपा (माओवादी केन्द्र) का कोही पनि नेता सहभागी भएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया