ओली सरकारको पतन शुरु भयो : नेता सिंह

लोकपथ
0
Shares

स्याङ्जा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन शुरु भएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा आज शनिवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका हुन् । उनले अब नेपालको राजनीति फरक धार बाट बग्छ भन्ने स्पष्ट संकेत रहेको समेत बताए ।

अहिले बहुमत पाए भन्दैमा ओलीले जथाभावी गर्न नपाउने भन्दै नेता सिंहले भने ‘ओली सरकारको पतन शुरु भयो । कर्णाली प्रदेशमा त्यसको संकेत देखियो । अब यो सरकारको आयु धेरै छैन ।’

उनले कांग्रेस कमजोर हुदाँ लोकतन्त्र कमजोर भएको भन्दै संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिष्ट लागी परेको उनको आरोप छ । असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको बैधानिकता समेत नहुने भन्दै ओलिले सत्ताको आडमा फिँजाएको जालो चिरेर निस्पक्ष निर्वाचन को वातावरण को सुनिश्चितता गर्नु पर्ने बताए ।

साथै नेता सिंहले १४ औं महाधिवेशनमा समयको माग बमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको आवश्यक रहेको बताए । लोकतन्त्र जोगाउनको लागी कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ ।  पार्टि पदाधिकारीहरुले नै पार्टी निर्णयको बचाउ गर्न नसकेको भन्दै केन्द्रीय समितिको निर्णय बाहिर गएर अभिव्यक्ति दिदै हिँडेकाले कांग्रेसका बारेमा अनावश्यक टिक्का टिप्पणी हुने गरेको प्रति चिन्ता व्यक्त गरे । देश र जनताका लागी कांग्रेसको आगामी महाधिवेशनमा सहि नेतृत्व चयन गर्नु पर्ने समेत उनको भनाई छ ।

नेता सिंहले पार्टि विधी प्रक्रियाबाट सञ्चालन हुन नसकेको बताए । कसैलाई माया गरेर पार्टीका महत्वपुर्ण पद दिदाँ कांग्रेस कमजोर भएको उनको दाबी छ । कांग्रेसका भविष्य कार्यकर्ताका हातमा रहेको भन्दै १४ औँ महाधिवेशनमा क्षमतावान नेतृत्व चयन गर्न कार्यकर्तालाई अनुरोध समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?