दार्चुलाको महाकाली नगरपालिका–९ का एक महिलालाई शुक्रबार सुत्केरी व्यथा लाग्यो । सदरमुकाम खलङ्गामा बस्दै आएकी ती महिला व्यथा लागेपछि नजिकैको जिल्ला अस्पतालमा गइन् । महिलाको शल्यक्रिया गर्नुपर्ने देखियो तर जिल्ला अस्पताल दार्चुलामा एक जना पनि चिकित्सक थिएनन् ।
चार चिकित्सकको दरबन्दी रहेको अस्पतालमा चिकित्सक नहुँदा व्यथा लागेका महिलालाई गोकुलेश्वर सिफारिस गरिएको हो । उनलाई महाकाली नगरपालिकाको एम्बुलेन्समार्फत गोकुलेश्वर अस्पताल पु¥याइएको थियो । यो त एक प्रतिनिधि घटना मात्रै हो । उनीजस्तै दर्जनौँ गर्भवतीले अहिले जिल्ला अस्पताल पुगेर गोकुलेश्वर वा पिथौरागढ सिफारिस हुनुपर्ने बाध्यता छ । अस्पतालमा बच्चा पाउन आउने गर्भवतीको जिल्लामै सुत्केरी हुन नसक्दा बिचल्ली भएको छ । सहजरूपमा जिल्लामै हुने शल्यक्रियाका लागि गोकुलेश्वर जाँदा रु छ हजार तिर्नुपरेको आफन्तजन बताउँछन् ।
गर्भवतीका लागि भन्दै चौबीसै घण्टे आकस्मिक प्रसूति सेवा केन्द्र राखिएको तर जिल्ला अस्पतालको आकस्मिक प्रसूति केन्द्र तीन सातादेखि बन्द छ । जिल्लाको मुख्य अस्पतालको स्वास्थ्य सेवा लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने उदासिन बनेको बिरामी बताउँछन् । जिल्ला अस्पताल दार्चुलामा आकस्मिक सेवा हेर्दै आएका मेडिकल अधिकृत नवीनकिशोर मल्ल धनगढी र अस्पताल निमित्त प्रमुख एवं एमडिजीपि डा आर्दश लिम्बू काठमाडौँ तालिममा गएपछि आकस्मिक सेवा बन्द भएको छ ।
चिकित्सक नहुँदा चैत दोस्रो सातादेखि अस्पतालमा शल्यक्रिया हुनसकेको छैन । अस्पतालमा आउने गर्भवतीलाई गोकुलेश्वर पठाउने गरिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया