टेकसिँह धामी /धनगढी- नेकपा विभाजनपछि पेचिलो बन्दै गएको प्रदेश सरकारको राजनीतिमा नेपाली कांग्रेस एकाएक निर्णायक भएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा माओवादी केन्द्रलाई साथमा लिएर अघि बढेको कांग्रेसले कर्णाली प्रदेशमा भने माओवादीलाई साथ दिएर उसको मुख्यमन्त्रीलाई जोगाईदिएको छ ।
यो सिलसिला कर्णाली प्रदेशमै रोकिने देखिदैन । सुदूरपश्चिम प्रदेशमा भने कांग्रेसले सत्तामा माओवादीसँग सहकार्य गर्ने सम्भावना बलियो भएको छ ।
एमाले भित्रको विवादले प्रदेश सरकारहरु संकटमा पर्न थालेपछि कांग्रेस भने उत्साही देखिएको छ । प्रदेश सरकार जो सुकै पार्टीले बनाएपनि कांग्रेसको साथ भने अनिवार्य जस्तै हुन थालेको छ ।
सुदूरपश्चिम प्रदेश सभा नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रण बहादुर रावलले नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार आफूहरु प्रदेशमा अघि बढ्ने बताए ।
हामीले अहिलेसम्म सत्ता साझेदारीका लागि कुनै पार्टीसँग छलफल चलाएका छैनौ,डा. रावलले भने, ‘अहिले सरकारमा जाने हतारमा पनि छैनौँ । हाम्रा लागि जनता मुद्दा र राजनैतिक स्थायित्व सबैभन्दा महत्वपूर्ण कुरा हो । सत्ता होइन ।’ उनले कम्युनिष्ट पार्टीभित्रको झगडाले राजनैतिक अन्यौलता र अस्थिरता सृजना गरेको आरोप लगाए ।
सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य रहेकोमा कांग्रेसका १२ जना सांसद रहेका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादीसंग १३, एमालेसँग २५ र जसपासँग दुई जना सांसद छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया