काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा ) भित्रको पूर्व राजपा पक्षलाई साथ लिएर सत्ता जोगाउन खोजेपनि अब त्यो ‘कार्ड’ काम नलाग्ने भएको छ ।
यसको पछिल्लो उदाहरण हो- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिएको विश्वासको मत ।
एमालेको ओली पक्षका सांसदहरुले कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । ओली पक्षले अविश्वास प्रस्ताव पास हुने आश गरेको थियो । तर वरिष्ठ नेता माधव नेपाल पक्षका ४ जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि गत शुक्रबार मुख्यमन्त्री शाहीको पद एक वर्ष जोगिन पुग्यो ।
यसले प्रधानमन्त्री ओलीलाइ आफ्नो सत्ता जोगाउन सजिलो छैन भन्ने स्पष्ट संकेत गरेको छ । ओलीले पार्टीमा जुन रुपमा नेपाल पक्षलाई व्यवहार गरेका छन्,नेपाल पक्षले पनि ओलीलाई जवाफ दिएको छ कर्णालीबाट। ओलीले जसपाको एउटा पक्षलाई साथ लिएर मात्रै सत्ता नजोगिने देखिएको छ । एमालेमा नेपाल पक्षको साथ ओलीका लागि अत्यावश्यक नै देखिएको छ।
कर्णालीको घटनाक्रम अन्यत्र पनि दोहोरिन सक्ने
प्रधानमन्त्री ओलीले लचकता नदेखाउने हो भने कर्णालीमा जस्तै अरु प्रदेशमा पनि त्यस्ता घटना दोहोरिन सक्छ ।
एमालेका एक नेताका अनुसार,ओली पार्टी फुटाउने दिशामा गएको र त्यसले उनलाइ नै घाटा हुने छ । ‘सत्ता र शक्तिको भरमा ओलीले जे पनि गर्न हुने तर कर्णालीका मुख्यमन्त्रीलाई भोट दिदा चाहि अपराध हुने ?’ ती नेता प्रश्न गर्छन् । ओलीले एमालेका १ सय २१ सांसद हुँदा हुँदै माओवादीबाट एमाले प्रवेश गरेकालाई मन्त्री पद बाँडेर गलत गरेको पनि उनको भनाई छ । ‘ओली नसच्चिएसम्म लुम्विनी,गण्डकी,र प्रदेश १ मा पनि कर्णाली घटना दोहोरिन सक्छ’ ती नेता भन्छन् ।
ओलीसँग आफ्नै पनि असन्तुष्ट
सर्वाेच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत् रुपमा व्यूँताएपछि पार्टी अध्यक्षको हैसियतले ओलीले नेपाल पक्षलाई समेटेर लैजानुपर्नेमा उल्टै चिढ्याउँदै जान थालेपछि कर्णाली घटना भएको ओली पक्षकै एक नेताको भनाई छ ।
ओलीको व्यवहारले एमालेलाई फुटको दिशातर्फ लैजाने उनी बताउँछन् । नेपाललाई जतिसक्दो चाँडो मिलाएर लैजानु पर्ने ती नेताको भनाई छ ।
अब जसपाको भरले मात्रै ओलीलाई नहुने
कर्णालीमा एमालेको नेपाल पक्षका सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई भोट हालेपछि प्रधानमन्त्री ओलीले जसपाको पूर्व राजपा पक्षलाई फकाएर सत्ता लम्व्याउछु भन्नु उनको गलत विश्लेषण हुनेछ ।
कर्णाली प्रदेशको घटना केन्द्रमा पनि नदोहोरिएला भन्न सकिन्न । माधव पक्षका सांसदको संख्या ३८ रहेको दावी छ । उनीहरुको सहयोग बिना ओलीको सत्ता जोगिदैन । प्रतिनिधिसभामा अहिलेको गणितमा एमालेका १ सय २१,कांग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ५३ मध्ये चारजना एमालेतिर लागेपछि सांसद पद खोजिएको छ । अव ४९ जना छन् । जसपाका ३४ (दुई जना निलम्बित) सांसद रहेका छन । त्यसैगरी राप्रपा,जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको एक–एक जना सांसद छन । सरकार बनाउनका लागि १ सय ३८ जना सांसदको समर्थन चाहिन्छ ।
माधव नेपाल पक्षका एक नेता भन्छन्,‘ओलीले पार्टीमा जुन गलत संस्कार बसाउन खोजेका छन् त्यसविरुद्ध हाम्रो लडाइ हो ।’
ओलीलाई केहि समय अझै सहज हुने
उच्च राजनीतिक स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सरकार अझै लम्बिने छ ।
दक्षिण छिमेकको ठम्याइ पनि ओली सरकार लम्बिदा आफ्नो हित हुन्छ भन्ने रहेको छ । त्यसकारण पनि सत्ता समीकरणमा कांग्रेस,माओवादी र जसपाको सरकार बन्न सकेको छैन । जसपाको एउटा पक्ष ओलीप्रति नरम हुनुको कारण पनि त्यही हो । प्रतिनिधिसभा विघटन ओलीको अंसवैधानिक कदम भनेर त्यसविरुद्ध लागेका दलहरु एक ठाउँमा भएपनि ओलीको विकल्पमा सत्ता समीकरणको प्रयास सफल भएको छैन ।
कांग्रेस नहतारिनुमा पनि यही कारण रहेको कतिपयको भनाई छ । भोली ओलीको विकल्पमा सरकार बनाएपनि आन्तरिक र बाह्य शक्तिले सरकार फेरबदल गर्न सक्ने कांग्रेसको आंकलन छ । तर ओलीले आम निर्वाचन गर्दा धाँधली गर्न सक्ने अनुमानले मात्रै कांग्रेस ओलीको विकल्प खोज्नुपर्छ भन्नेमा लागेको हो भन्ने कांग्रेसका एक नेताको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया