टेकसिँह धामी/ धनगढी-कोरोना भाईरस (कोभिड–१९)को बढ्दो जोखिमलाई मध्यनजर गर्दै भूमिसुधार तथा मालपोत कार्यालय कैलालीले स्थानीय तहका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ । कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै मालपोत कार्यालयले जनाएको छ ।
यस्तै अन्य विभिन्न सेवाका लागि पनि वार तोकिएको छ । कोभिड –१९ को संक्रमण रोकथामका लागि धनगढी उपमहानगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका नागरिकले आइतवार र सोमवार कार्यालयबाट सेवा पाउनेछन् । मंगलवार र बुधवार गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका र भजनी नगरपालिकाका नागरिकलाई सेवा दिइने कार्यालयले जनाएको छ ।
यस्तै घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकाका नागरिकले बिहिवार र शुक्रवार सेवा पाउने भएका छन् ।
यसैगरी मुद्दा फाँटसँग सम्बन्धित कार्यका लागि धनगढीवासीले आइतवारदेखि मंगलवारसम्म सम्पर्क राख्न सक्नेछन् भने बुधवारदेखि शुक्रवारसम्म अन्य स्थानीय तहका नागरिकलाई सेवा दिइने भूमिसुधार तथा मालपोत कार्यालयले बताएको छ । साथै कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ ।
कैलालीमा पछिल्लो समय कोरोना संक्रमण हुने दर उच्च रहेको छ । विद्यालय बन्द भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया