काठमाडौं । सांसदहरुले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संरचना नै बदल्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रतिष्ठानसँग गरेको छलफलमा सांसदहरुले यस्तो बताएका हुन् । नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई बलियो बनाउन धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताइन् । विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई स्थान दिन आवश्यक रहेको बताइन् । प्रतिष्ठानको कार्यक्षेत्र र अधिकार क्षेत्र स्पष्ट बनाएर मात्र प्रतिफल लिन सकिने पनि उनले बताइन् ।
नेकपा एमालेका सांसद दीपक प्रकाश भट्टले परराष्ट्र मामिला सम्बन्धमा सरकारसँगै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान के गरिरहेको छ भन्ने थाहा पाउन मिडियामा आउने समाचारको भर पर्नुपर्ने अवस्था रहेको बताए। देशको संवेदनशिलतालाई बुझेर काम गर्नुपर्ने बताए । विश्व समुदायको विभिन्न मञ्चमा नेपालले सहभागिता जनाउँदा अथवा सहमति गर्दा समग्र देशलाई असर गर्ने हुँदा समय सापेक्ष अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको बताए ।
नेकपा एमालेका अर्का सांसद मोहन बानियाले नेपालले पक्ष राष्ट्र भई गर्ने हरेक सन्धी सम्झौता हरेक नागरिकले बुझ्न पाउनुपर्ने बताए । सार्वभौम संसदका प्रतिनिधिले समेत नेपालले गरेका सन्धी सम्झौताबारे बेखबरको अवस्था रहेको बताए ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले नेपालको बैदेशिक मामिला एवं अन्तर्राष्ट्रिय सम्बन्धमा अल्पकालिन तथा दिर्घकालिन नीति तर्जुमा गर्ने नेपाल सरकारलाई परामर्श प्रदान गर्ने काम गर्छ । प्रतिष्ठानले अन्तर्राष्ट्रिय सम्बन्धका विविध आयामहरुको अध्ययन र अनुसन्धान गर्दै परराष्ट्र मामिलामा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिमा पृष्ठपोषण गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया