भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा बझाङमा कोरोना संक्रमितले गुमाए ज्यान

टेकसिंह धामी/ धनगढी- बझाङमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

संक्रमित पुरुषको हिजो बिहिवार जिल्ला अस्पतालबाट कोहलपुर लैजाने क्रममा मृत्यु भएको हो ।

भारतको तमिलनाडुबाट चैत २९ गते घर फर्किएका ती व्यक्तिलाई अक्सिजन सपोर्टमा राखेर उपचार गरिँदै आएको थियो । तर अवस्था खराब भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखिएको थियो।

जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर भएपनि चलाउने जनशक्ति नहुँदा बिरामीलाई कोहलपुर रेफर गरेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले लोकपथलाई बताए । तर कोहलपुर पुग्न नपाउँदै ती संक्रमितले बाटोमै ज्यान गुमाए ।

जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर प्रदेश सरकारले पठाएको थियो । तर चलाउने जनशक्ति अभावले दुवै भेन्टिलेटर थन्किएका छन्। यस्तै अस्पतालमा रहेको पीसीआर मेशिन चलाउने जनशक्ति समेत नहुँदा पछिल्लो समय त्यहाँ कोरोना परीक्षण हुन सकिरहेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?