त्रिकोणात्मक टी– २० सिरिज : एक दशक पछि मातृभूमिमा उपाधि जित्ने नेपालको चाहना

काठमाडौं । बजाज पल्सर ट्राई नेसन्स टी– ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजक राष्ट्र नेपाल र नेदरल्याण्ड्स बिच फाईनल खेल खेलिदै छ । अपरान्ह १ः१५ बजे शुरु हुने सो फाइनल खेलमा जीत निकाल्न नेपाली टोली निकै आतुर देखिन्छ ।

सन् २०१० मा खेलिएको आईसीसी डिभिजन ५ मा अमेरिकालाई हराउँदै नेपालले होमसोइलमा उपाधि जितेको थियो । झण्डै ११ वर्ष पछि आजको फाइनल खेलमा उत्रने नेपाली क्रिकेट टोली सन् २०१० को टोली भन्दा निकै फरक देखिन्छ । तर उपाधि जित्ने चाहनामा भने केही कमी देखिएको छैन ।

यस त्रिकोणात्मक शृङ्खलामा नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन देखाएको छ । यस सिरिजमा सुरुका दुई खेलमा दोस्रो ब्याटिङ गर्दा नेपालले दुबै खेल मात्र १ विकेट गुमाएर ९ विकेटले बाजी मारेको थियो । त्यसपछिका दुई खेलमा पहिलो ब्याटिङ गर्दा नेपालले दुबै खेलमा २०० रन भन्दा माथिको विशाल लक्ष्य खडा गर्न सफल भएको थियो । नेपालको राम्रो ब्याटिङको श्रेय २४ वर्षीय कुशल भुर्तेललाई जान्छ । यस शृंखला मार्फत नेपालका लागि टी– ट्वेन्टी आईमा डेब्यु गरेका भुर्तेलको स्ट्याटस घत लाग्दो छ । ४ खेलमा १३६.६२ को स्ट्राइक रेट र ६७.० को औसतका साथ भुर्तेलले २०१ रन प्रहार गरेका छन् । उनी यस प्रतियोगिताकै लिडिङ रनस्कोरर पनि हुन् ।

यस शृङ्खलामा नेपालको बलिङको मिश्रित समिश्रण दिन सकिन्छ। सुरुका दुई खेलमा टस जितेर पहिले बलिङ गर्दा नेपालले नेदरल्याण्ड्स र मलेसियालाई क्रमशः १३६ र १०९को सामान्य योगफलमा रोक्न सफल भएको थियो । तर नेपालले नेदरल्याण्ड्स सँगको दोस्रो खेलमा पहिलो ब्याटिङ गरेर २०७ रनको चुनौती पस्किदा पनि ३ बल अगाव नै नेदरल्याण्ड्स सो खेलमा विजयी भएर निस्केको थियो । नेपालको बलिङ यूनिटको कुरा गर्दा तेज गतिका बलर सोमपाल कामीले यस प्रतियोगितामा ४ खेल खेल्दै ५ विकेट लिएका छन् भने करन केसीले ४ खेलमा ४ विकेट लिएका छन् । यस प्रतियोगिताको सर्वाधिक विकेट टेकर सन्दिप लामिछाने रहेका छन् । उनले ४ खेलमा ११ विकेट लिसकेका छन् । तर सन्दिप पछिल्ला दुई खेलमा निकै महंगो सावित भएका छन् । उनले पछिल्ला दुई खेलमा व्यक्तिगत ४ ओभर गर्दै क्रमशः ४८ र ४२ रन खर्चिन पुगेका छन् ।

नेदरल्याण्ड्सको कुरा गर्ने हो भने ब्याटिङमा बेन कूपर र म्याक्स ओ डाउड खतरनाक साबित भएका छन्। कुपरले यस शृङ्खलामा दुई अर्धशतक सहित १२९ रन बनाइसकेका छन् भने डाउड यस प्रतियोगितामा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन् । बलिङ तर्फ कप्तान पीटर सिलार निकै नै इकोनोमीकल सावित भएका छन् । अलराउन्डर बास दे लीडले पनि नेपाल विरुद्ध उत्कृष्ट प्रदर्शन देखाइसकेका छन् । लीडले नेपाल सँगको दुई खेलमा एकमा ८१ र अर्कोमा ४१ रन बनाएका थिए ।

नेदरलयाण्ड्स संगको दुई खेलमा एकमा जित र एकमा हार वयहोरेको नेपाल आजको फाईनल खेल आफ्नो पकडमा पार्ने दाउमा छ । नेपालले ६ अंक सहित शीर्ष स्थानमा समूह चरणको खेल टुङ्ग्याएको थियो भने नेदर्ल्यान्ड्स ५ अंक सहित दोस्रो स्थानमा रह्यो ।

नेपाली क्रिकेट प्रेमीका लागि आजको फाइनल खेल निकै नै महत्वपूर्ण छ। एक दशक पछि त्रिवी मैदानमा नेपालले उपाधि जितेको हेर्न सारा नेपाली उत्सुक देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?