काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी बजाज पल्सर ट्राई नेसन्स टी- ट्वेन्टी क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध २३८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाउँदै २३८ रनको शानदार योगफल तयार गरेको छ।
ओपनर कुशल भुर्तेलले यस शृङ्खलामा आफ्नो चौथो अर्धशतक जडान गरे। उनले ५३ बलको सामना गर्दै ८ चौका र ३ छक्का सहित ७७ रन बटुले। ५ खेलमा ४ अर्धशतक प्रहार गरेका भुर्तेलले यस प्रतियोगितामा २७८ रन जोडेका छन्।
त्यसै गरी कुशल भुर्तेललाई साथ दिँदै कुशल मल्लले पनि उत्कृष्ट ब्याटिङ गरे। २४ बलमा अविजित ५० रन बनाउँदा मल्लले ५ छक्का र २ चौका प्रहार गरे। मल्ल नेपालको टी( ट्वेन्टी आईमा दोस्रो फास्टेष्ट अर्धशतक प्रहार गर्ने खलाडी पनि बन्न पुगे। भुर्तेल र मल्ल बीच ७६ रनको साझेदारी बनेको थियो।
१६औं ओभरको खेल चल्दा १६३ रनको स्कोरमा मैदान प्रवेश गरेका उप कप्तान दीपेन्द्र सिंह ऐरीले पनि बेतोडले ब्याटिङ गरे। मात्र १८ बल खेल्दै अविजित ४८ रनको लाजवाब क्यामियो खेल्दा नेपालले टी( ट्वेन्टी आईमा सर्वाधिक रन जोड्न सफल भयो। यस अघि नेपालले १३औं सागमा भुटान विरुद्ध २३६ रन प्रहार गरेको थियो।
जवाफमा २३९ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्सका ओपनर म्याक्स ओ डाउड र तोबियस विस्से मैदान प्रवेश गरिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया