टेकसिँह धामी/धनगढी- सेती प्रादेशिक अस्पतालमा उपचारकै लागि टिकट लिन लाइनमा बसेका केही व्यक्तिहरूका मुखमा मास्क छैन । भौतिक दूरीको त कुरै छाडौँ अस्पतालको ओपिडी कक्षमा ठूलै भिड देख्न सकिन्छ । कुनै न कुनै उपचारकै क्रममा अस्पताल पुगेका व्यक्तिहरूमा देखिएको यो बेपरवाहले कोरोना संक्रमणको त्रास बढाएको छ ।
सुदूरपश्चिममा संक्रमण तीव्र
कोरोना भाइरस संक्रमण सुदूरपश्चिममा तीव्र छ । दैनिक सयभन्दा बढी कोरोना संक्रमितहरू थपिने गरेका छन् । गत २४ घण्टामा तीन जनाको मृत्यु भइसकेको छ भने शनिवार मात्र ११० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
पहिलो लहरका बेला पालना गर्न गराउन लगाइएका स्वास्थ्य मापदण्ड समेत अस्पतालमा लागू गरिएको देखिँदन । दोस्रो चरणको कोरोना अत्यन्त तीव्र गतिमा फैलन सक्ने हुँदा सचेत रहन आग्रह गरिए पनि आवश्यक व्यवस्थापन भने भएको पाइँदैन ।
साबुनपानीले हात धुने, मास्क लगाउने, भीडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, सकेसम्म घरभित्रै बस्ने आदि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा नागरिकको लापरबाही बढ्न थालेको छ । यहाँको अस्पतालमा भीड व्यवस्थापन र स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पालना नहुँदा कैलालीका समुदायलाई कोरोना भाइरसबाट सुरक्षित बनाइराख्न चुनौती देखिएको छ ।
‘बिरामी र उनीहरूसँगै अस्पताल आउनेहरूको भीड व्यवस्थापन हुन सकेको छैन, सेती प्रादेशिक अस्पताल धनगढीमा लिन आएका गजेन्द्र धामीले भने, ‘भौतिक दूरी कायम भएको छैन । नजिक नजिक टाँसिएर ठेलमठेल गरेर लाइन बस्नुपरेको छ ।’
विभिन्न ठाउँमा हात धुन साबुनपानीको व्यवस्था गरिए पनि प्रयोगमा आएको छैन । ओपिडी कक्षमा सबैभन्दा बढी भिड हुने गरेको छ । नाम दर्ता, जाँच गराउने र रिपोर्ट देखाउने समयमा मानिसहरुको भिड लाग्ने गरेको छ । अस्पताल व्यवस्थापन समितिले भिड व्यवस्थापनका लागि कुनै पनि उपाय गरेको देखिँदैन ।
भौतिक दूरी पालना नगर्दा समस्या
सेवाग्राहीले भौतिक दूरी पालना नगरिदिँदा समस्या भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । ‘जति भने पनि आफ्नो ढिपी छाड्दैनन्’, उनले भने, ‘सेवाग्राहीले वास्ता गर्नुभएको छैन । कन्ट्रोल गर्न समस्या भएको छ ।’
सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा १ दिनमा ७० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया