काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट एकहप्ता निषेधाज्ञा !

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि एकहप्ता निषेधाज्ञा जारी हुने भएको छ ।

आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो)हरुको बैठकमा त्यसबारे छलफल भइरहेको छ ।

त्यस्तै निषेधाज्ञा हुने पक्कापक्की भएपनि मोडालिटीका विषयमा छलफल भइरहेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले लोकपथलाई जानकारी दिए ।

यसै विषयमा जानकारी दिँदै ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले लोकपथसँग भने- ‘१६ गतेबाट एकहप्ता निषेधाज्ञा गर्ने भन्ने लगभग अन्तिम टुंगोमा पुगेको छ । मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।’

काठमाडौं उपत्यका लगायत देशैभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उपत्यका प्रशासनले लकडाउन गर्ने निर्णय गरेको हो ।

यसअघि आइतवार तीनै जिल्लाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिसकेको छ ।

यसअघि आइतवार नै कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना जोखिम बढेको भन्दै निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?