काठमाडौं । ब्राजिलमा कोभिड १९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९० हजार नाघेको छ । त्यहाँ यो संक्रमणबाट तीन लाख ९० हजार ७९७ जनाको मृत्यु भएको आइतवार त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को संक्रमणका कारण एक हजार ३०५ जनाको मृत्यु भएको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी त्यहाँ कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४३ लाख ९३ हजार २०५ जना संक्रमित भएका छन् ।
त्यहाँ गत २४ घण्टामा कोभिड–१९ का करिब ३३ हजार जना संक्रमति थपिएका छन् । ब्राजिलमा दिनहुँ नागरिकको ज्यान जाने र संक्रमित हुने क्रम उल्लेख्य मात्रामा कम हुन सकेको छैन । ब्राजिलमा हाल स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न भएको देखिएको छ । त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले कोभिड–१९ का कारण भयानक मात्रामा तनाव खेपिरेहको पनि बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि यहाँका अस्पतालहरूले बिरामीको चाप थेग्न सकेका छैनन् । जसका कारण संक्रमण भएर गम्भीर अवस्थामा पुगेकाहरुको उपचारमा पनि समस्या भएको जनाएका छन् ।
त्यस्तै ब्राजिलमा कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी नै छ । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रणको उपाय लकडाउन नै भएको विज्ञहरुको दाबी छ । तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गरेका छैनन् । भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उनको निकै चर्को आलोचना हुने गरेको छ ।
त्यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो । सो राज्यमा मात्र २८ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् । उता यस संक्रमणबाट त्यस राज्यका मात्र ९२ हजार जना भन्दा बढी व्यक्तिको ज्यान गएको छ । त्यहाँ अहिले पनि हरेक दिन नयाँ संक्रमितहरु देखिने क्रम जारी नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया