काठमाडौँ- काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ।
तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४ सय जनाको पीसीआर परीक्षण र ८ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ हजार ४ सय ४२ जना पीसीआर पोजेटीभ र १ सय १४ जनामा एन्टिजेन पोजेटीभ आएको हो ।
काठमाडौं उपत्यकामा मात्रै १ हजार ९१२ जनामा संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १ हजार ५६७ जना, ललितपुरमा २२३ जना र भक्तपुरमा १२२ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया