बैंकिङ्ग कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ्ग कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं १० बानेश्वरका ५० वर्षीय कैलाश प्रसाद श्रेष्ठ र चन्द्रागिरी नगरपालिका वडा नं १० का ३३ वर्षीय नारायण आचार्य रहेका छन् ।

उच्च अदालत पाटनबाट २०७७/११/१७ गतेको फैसलाले श्रेष्ठलाई ७ (सात) दिन कैद र (तीस लाख) जरिवाना हुने ठहर भएकोमा फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलमा फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै आचार्यलाई उच्च अदालत पाटनको मिति २०७७/१२/०३ गतेको फैसलाले १४ दिन कैद र सत्ताइस लाख पचास हजार जरिवाना हुने ठहर भएकामा फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं गुर्जुधाराबाट पक्राउ गरेको हो ।

उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी प्रभु बैंक र ग्लोबल आई.एम.ई बैंकका विभिन्न रकमका चेकहरु काटी दिई बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट विभिन्न मितिमा निज प्रतिवादीहरुको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम निम्न उल्लेखित सजाय हुने गरी फैसला भएकोप्रहरीले जनाएको छ ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?