नेपाल सुपर लिग : काठमाडौंको अप्रत्याशित हार

लोकपथ
35
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज (मंगलवार) भएको खेलमा धनगढी एफसीले काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

आफ्नो पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० गोल अन्तरले नै पराजय भोगेको धनगढीले भ्याली डर्बीको विजेता काठमाडौं रेजर्सलाई यति फराकिलो अन्तरले हराउनु धेरैका लागि अप्रत्याशित नतिजा भएको छ ।

देशव्यापी कोरोना महामारीको माझ दशरथ रंगशालामा बिना दर्शक खेलिएको आजको खेलको पहिलो मिनेट देखि नै धनगढी आक्रामक देखिएको थियो ।

यस संस्करणको आफ्नो पहिलो गोल गर्न धनगढीलाई आजको खेलमा धेरै समय लागेन । पहिलो हाफको १९औं मिनेटमा टंक बस्नेतले गोल गर्दै धनगढीलाई अग्रता दिलाउन सफल भएका थिए । त्यसको ५ मिनेट पनि नबित्दै खेलको २३औं मिनेटमा ओलावालेले धनगढीको अग्रतालाई दोब्बर बनाइदिए । मैदानको मध्य भाग बाट सोलो रन बनाएका ओलावालेले काठमाडौंका २ डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए ।

विराटनगर एफसी विरुद्धको खेलमा निकै आलोचना भोगेका ओलावालेले आजको खेलमा सबैलाई गलत सावित गर्दै पहिलो हाफको इन्जुरी समयमा आफ्नो व्यक्तिगत दोस्रो गोल गरे । यसका साथै पहिलो हाफ सकिँदा धनगढीले काठमाडौं माथि ३–० गोलको पकड बनाई सकेको अवस्था थियो ।

दोस्रो हाफको ६८औं मिनेटमा धनगढीका रमेश दंगालले दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिन पुगेपछि लगभग २५ मिनेटको खेल धनगढी एफसीले १० खेलाडी मै खेल्नु परेको थियो ।

काठमाडौंले खेलमा फर्किन निकै प्रयास गरेपनि सो हुन सकेन र खेल धनगढीले ३–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

उत्कृष्ट प्रदर्शन गरेका ओलावाला खेलको म्यान अफ दि म्याच चुनिए । उनले नगद रु २५ हजार प्राप्त गरे ।

त्यसैगरी धनगढी एफसीका पुजन उपरकोटी खेलका प्रमिसिङ प्लेयर घोषित हुँदै नगद रु १० हजार ग्रहण गरे ।
यसरी धनगढी एफसीले अंक तालिकामा आफ्नो खाता खोलेको छ भने काठमाडौं रेजर्सले प्रतियोगिताको पहिलो हार बेहोरेको छ ।

नेपाल सुपर लिगमा भोलि (बुधवार) दुई खेल खेलिने छन् । पहिलो खेलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीको सामना गर्ने छ भने दोस्रो खेलमा विराटनगर सिटी एफसी र पोखरा थन्डर्स आमने सामने हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?