काठमाडौं । खुकरी नेपाल सुपर लिग (एनएसएल) मा आज (बुधवार) दुई खेल खेलिँदै छन्।
खेलकुद मन्त्री दामा तामाङले निषेधाज्ञामा पनि एनएसएलमा रोक नलगाइने जानकारी दिएपछि यस संस्करणको एनएसएल सम्पन्न हुने निश्चित भएको छ।
बिना दर्शक दशरथ रंगशालामा खेलिने आजको पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसी भिड्दै छन्। कप्तान भरत खवासको कप्तानीमा मैदान प्रवेश गर्ने चितवनको टोली आफ्नो पहिलो जितको अपेक्षामा छ।
पहिलो खेलमा ललितपुर सिटी एफसीसँग अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गरेर हारबाट जोगिएको चितवन आज भने बुटवल लुम्बिनी एफसीलाई हराउने दाउमा देखिन्छ। उता बुटवल लुम्बिनीले भने प्रतियोगिताको शुरुवात पोखरा थन्डर्समाथि २-० गोलको शानदार जितले गरेको थियो। आफ्नो जितको लयलाई कायम राख्ने बुटवल लुम्बिनी एफसीको लक्ष्य रहने छ। चितवन र लुम्बिनी बिचको खेल अपरान्ह २ः३० बजे शुरु हुनेछ।
त्यस्तै, आज हुने दोस्रो खेलमा विराटनगर सिटी एफसी र पोखरा थन्डर्स आमने सामने हुँदै छन्। साँझ ५ः३० बजेबाट शुरु हुने खेलमा पोखरा थन्डर्स आफ्नो पहिलो जितको खोजीमा मैदान प्रवेश गर्ने छ। आफ्नो पहिलो खेलमा स्ट्राइकर नवयुग श्रेष्ठलाई कप्तानीको जिम्मा सुम्पेको पोखराको टोलीलाई इनफर्म विराटनगर एफसीको चुनौती निकै कठिन हुने अनुमान गरिएको छ।
रजिन धिमालको कप्तानीमा रहेको विराटनगरको टोलीले आफ्नो पहिलो खेलमा धनगढी एफसी माथि ३ः० गोलको फराकिलो जित निकालेको थियो।
यसैगरी हिजो भएको खेलमा धनगढी एफसीले काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गरेको थियो।
पहिलो खेलमा ३ अंक बटुलेको विराटनगरको गोल डिफरेन्स पनि ३-० नै रहेको हुँदा विराटनगर सिटी एफसीले अंक तालिकाको शीर्ष स्थानमा पकड बनाएको अवस्था छ। आजका दुई खेलले यस संस्करणको दावेदार टोलीलाई चिनाउन ठूलो टेवा पुर्याउनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया