काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज (बुधवार) चेन्नई सुपर किङ्स र सन्राईजर्स हैदराबाद प्रतिस्पर्धा गर्दै छन्।
कोरोनाको केन्द्रविन्दु बनेको भारतको राजधानी दिल्लीको अरुण जेट्ली स्टेडियममा नेपाली समय अनुसार साँझ ७ः४५ बजे चेन्नई र हैदराबाद बिचको खेल खेलिने छ।
यस संस्करणमा उत्कृष्ट फर्ममा रहेको चेन्नईको टोलीले शीर्ष स्थानमा आँखा गाडेको छ। आफ्नो पहिलो खेलमा दिल्लीविरुद्ध ७ विकेटको पराजय भोगेको चेन्नईले त्यस पश्चात पछाडि फर्केर हेरेको छैन। ५ खेलमा ४ जित निकाल्दै चेन्नई अंक तालिकाको दोस्रो स्थानमा बलियो देखिन्छ।
उता ५ खेलमा ४ मा हार भोगेको हैदराबाद भने आफ्नो टोलीको सन्तुलन मिलाउने क्रममा छ। विदेशी खेलाडी जनी बेरष्टो, केन विलियम्सन् र राशिद खान बाहेक कुनै पनि खेलाडीले आफ्नो प्रदर्शन देखाउन नसक्दा हैदराबाद अंक तालिकाको अन्तिम स्थानमा रहेको छ।
आफ्नो १५०औं आईपीएल खेलको पर्खाइमा रहेका मनिश पाण्डेलाई आजको खेलमा देखिने अपेक्षा गरिएको छ। मनिशको ठाउँमा आएका विराट सिंहले राम्रो प्रदर्शन गर्न नसक्दा मनिशको पुनरागमन लगभग निश्चित छ।
अहिलेसम्म यी दुई टोलीको दिल्लीमा भएको खेलहरु हेर्दा दुबै टोलीले ८ खेलमा ६ जित हासिल गरेको देखिन्छ। तर यसपालि भने दुबै टोली छुट्टा-छुट्टै परिस्थितिमा छन्। अरुण जेट्ली स्टेडियममा कसको झण्डा लहराउने छ भन्ने कुरा आजको खेलले आँफै बताउने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया