काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा आज (बुधवार) भएको पहिलो खेलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीसँग २-२ गोलको बराबरी खेल खेलेको छ।
पहिलो हाफको १५औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए। खेलको १९औं मिनेटमा फेरि चितवनले टेक बहादुर बुढाथोकीको गोल मार्फत अग्रतालाई दोब्बर बनायो।
पहिलो हाफको ३२औं मिनेटमा आशिष लामाले डी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै बुटवल लुम्बिनीलाई खेलमा फर्काए।
दशरथ रंगशालामा खेलिएको खेलको पहिलो हाफ २-१ गोलमा सकिएको थियो।
आफ्नो पहिलो खेलमा ललितपुरसँग १-१ गोलको बराबरी खेल खेलेको चितवनले आज पनि आफ्नो अग्रतालाई जोगाउन सकेन र खेलको ६५ औं मिनेटमा लक्ष्मण रूचालको गोल मार्फत बुटवल लुम्बिनीले खेल बराबरीमा पुर्यायो।
यो खेल पश्चात चितवनले २ खेलमा २ अंक जोडेको छ भने बुटवल लुम्बिनीले २ खेलमा ४ अंक जोड्न सफल भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया