काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा आज (बुधवार) भएको देश्रो खेलमा पोखरा थन्डर्सले विराटनगर सिटी एफसीलाई १-० गोलले पराजित गर्दै यस संस्करणमा आफ्नो गोल तथा अंकको खाता खोलेको छ।
पहिलो हाफको खेलमा दुबै टोलीले गोल गर्न नसक्दा शुरुको ४५ मिनेट गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफको ८३ औं मिनेटमा पोखरा खेलमा अग्रता लिन सफल भएको थियो। मोसा अब्बाको फ्रीकिकलाई पोखराका मार्की प्लेयर एवम कप्तान नवयुग श्रेष्ठले सुन्दर हेडर मार्फत गोलमा परिणत गर्दा पोखरा थन्डर्सले विराटनगर सिटी एफसीलाई १-० गोलले पराजित गरेको हो।
खेलको एक मात्र गोलकर्ता नवयुग म्यान अफ दि म्याच घोषित भए। उनले रु २५ हजार रुपैयाँ हात पारे। त्यसैगरी पोखराका नितिन थापा प्रमीसिङ प्लेयर घोषित भए। उनले रु १० हजार प्राप्त गरे।
आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनीसँग २-० गोलले पराजय भोगेको पोखरालेले आजको खेल पश्चात २ खेलमा १ जित सहित ३ अंक बटुलेको छ भने पहिलो खेलमा उत्कृष्ट फुटबल खेल्दै धनगढीलाई ३-० गोलले पराजित गरेको विराटनगरले प्रतियोगिताको पहिलो हार बेहोरेको छ।
भोलिको खेलमा ललितपुर सिटी एफसी र धनगढी एफसी प्रतिस्पर्धा गर्ने छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया