काठमाडौं। गए राती सम्पन्न युईएफए च्याम्पियन्स लिगको दोस्रो सेमी फाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन् (पीएसजी) आफ्नै घरेलु मैदानमा इंग्लिश क्लब म्यानचेस्टर सिटीसँग स्तब्ध बन्न पुगेको छ।
सिटीले पार्क डे प्रिन्सेसमा पीएसजीलाई १-२ गोलले पराजित गर्दै महत्वपूर्ण २ अवे गोल बटुलेको छ। पहिलो हाफको १५औं मिनेटमा नै घरेलु टोली पीएसजीले खेलमा अग्रता लिएको थियो। एन्जल डी मारियाको कर्नर किकलाई उत्कृष्ट हेडर मार्फत कप्तान मारक्विनोसले गोलमा परिणत गर्दा पहिलो हाफ १-० मा सकियो।
दोस्रो हाफको गाथा अर्कै हुन पुग्यो। ६४ औं मिनेटमा सिटीका केविन डे ब्राइनले गरेको प्रहार पीएसजीका गोलरक्षक केलर नाभासले रोक्न नसक्दा खेल बराबरीमा पुग्यो।
खेलको ७१औं मिनेटमा सिटीले दोस्रो गोल गर्न सफल भयो। फिल फोडेनले कमाएको फ्रकिकलाई सिटीका रियाद माहरेजले गोलमा परिणत गर्दा गत संस्करणको उप विजेता पीएसजी आफ्नै घरेलु मैदानमा पछि पर्यो।
पीएसजीको दुःख यतिमै सीमित भएन। खेलको ७८औं मिनेटमा मिडफिल्डर इदृसा गाना ग्वेले रातो कार्ड प्राप्त गर्दा पीएसजी १० खेलाडीमा सिमित हुन पुग्यो। खेलको ९० मिनेटसम्म अरु कुनै गोल हुन सकेन र खेल सिटीको हातमा गयो।
नेयमार र एमबाप्पेलाई खेलभरि मौन राख्न सफल सिटीको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेको थियो। अब सेमी फाइनलको दोस्रो लेगको खेल आउँदो मंगलवार सिटीको घरेलु मैदान एतिहाद स्टेडियममा हुने छ।
युईएफए च्याम्पियन्स लिगको फाइनल खेल मे २९ मा इस्तानबुलमा खेलिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया