कैलाली र कञ्चनपुरमा पनि आजबाट निषेधाज्ञा जारी

कैलाली । कोरोना भाइरसको संक्रमण दर बढ्न नदिन सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि आज बिहानबाट एक साता निषेधाज्ञा लागू गरिएको छ।

कोरोनाको संक्रमण समुदाय स्तरमै फैलिएपछि कञ्चनपुरमा पनि एक साता निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षमा मंगलबार साँझ बसेको बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्नमा रोक लगाउने निर्णय गरेको थियो।

दुवै जिल्लामा निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द भएका छन्। खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहेका छन्। खाद्य पसलहरू बिहान ५ देखि १० बजेसम्म मात्रै खोल्न पाइनेछ।

निषेधाज्ञाको अवधिमा पनि तीन घण्टा बैंकिङ सेवा सञ्चालन हुने भएको छ। नेपाल बैंकर्स संघ सुदूरपश्चिम एकाइले बिहान १० बजेदेखि दिउसो १ बजेसम्म बैंकिङ सेवा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष बिरुराम जैशीले बताए।

त्यस्तै सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। बिहीबारदेखि आकस्मिक सेवा मात्रै सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?