आईपीएल भिडन्त : पहिलो खेलमा मुम्बई र राजस्थान भिड्दै

काठमाडौं।  १४औं इन्डियन प्रिमियर लिग (आईपीएल) संस्करणमा आज (बिहीवार) दुई खेल खेलिंदै छन् । अंक तालिकाको पहिलो चारमा रहेका दुई टोलीले पछिल्लो चारमध्येका दुई टोलीसँग आज प्रतिस्पर्धा गर्दै छन् ।

भारतको राजधानी तथा कोरोनाको केन्द्रविन्दु बनेको दिल्लीमा नेपाली समय अनुसार ३ः४५ बजे मुम्बई इण्डियन्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दै छन् भने साँझ ७ः४५ बजे अहमदाबादमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स आमने सामने हुँदै छन् ।

अंक तालिकामा चौथो स्थानमा रहेको मुम्बई इण्डियन्सको मिडल अर्डर यस संस्करणमा फिक्का देखिएको छ। हार्दिक पाण्ड्या, क्रुनाल पान्ड्या, काइरन पोलार्ड जस्ता ‘वर्ल्ड क्लास फिनिशर्स’ सम्मिलित मुम्बईको डेथ ओभर्स रनरेट १३.१९ बाट ७.४५ मा झरेको छ। चेन्नईको स्लो पिचमा आफ्नो पहिलो ५ खेल खेलेको मुम्बईले दिल्लीमा यो तथ्याङ्क बदल्न चाहन्छ।

संयोगवश, मुम्बईको सामना सातौं स्थानमा रहेको राजस्थानसँग हुँदै छ। राजस्थानको बलिङ डेथ ओभरमा सबैभन्दा खराब रहेको छ । राजस्थानले ५ खेलमा १६-२० ओभरमा ११.५१ को औसतले रन खर्चेको छ। तर राजस्थानले आफ्नो सुरुवाती ५ खेल मुम्बईको वांखेडे मैदानमा खेलको थियो जहाँ यसपाली ८.८१ औसत प्रति ओभरमा रन बनेको छ।

आजको दोस्रो खेलमा अंक तालिकाको तेस्रो स्थानमा रहेको दिल्लीले पाँचौं स्थानमा रहेको कोलकाताको सामना गर्दैछ । आफ्ना पछिल्ला दुई खेलमा एकमा सुपर ओभरमा जित र अर्कोमा अन्तिम बलमा हार बेहोरेको दिल्ली आजको खेलमा सजिलो जित निकाल्ने प्रयासमा रहने छ।

दिल्लीको ४ जित मध्येको ३ जितमा ओपनरद्वय शिखर धवन र पृथ्वी शले ५० रन भन्दा बढीको साझेदारी बनाएका छन्। यस संस्कारको सर्वाधिक रनकर्ता धवनको ब्याटिङमा दिल्ली निर्भर भएको अवस्था छ।

उता कोलकाताका ओपनरहरुको कथा एकदम फरक छ। ६ इन्निंगमा मात्र ८९ रन बनाउन सफल शुबमन् गिलको ब्याटिङले सबैलाई निराश बनाएको छ। अर्का ओपनर नितिश रानाले पहिलो दुई खेलमा अर्धशतक लगाए पनि त्यस पश्चात मात्र ४९ रन जोड्न सफल हुँदा कोलकाताको ब्याटिङ यूनिट कमजोर देखिएको छ। तर, पछिल्लो म्याचमा पंजाब विरुद्धको जितले कोलकातालाई केही हदसम्म आत्मविश्वास दिनेछ।

आजको दुबै खेलको आ-आफ्नो महत्व रहेको छ। निराशा यी चारवटै टोलीको वरिपरि घुमिरहेको अवस्थामा कुन दुई टोलीले राहतको सांस फेर्ने छन्, आजको खेलहरुको जवाफ रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?