काठमाडौंका सिडियोको मुड : ‘भोलिदेखि नै सबै ठाउँमा कडाइ गरिन्छ’

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएको छ । काठमाडौं उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो । उपत्यकामा कोरोना संक्रमणको दर दिन प्रतिदिन उच्च हुन थालेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा तुलनात्मक रुपमा खुकुलो हुने जिल्ला प्रशासन कार्यालयहरुले संकेत गरेका छन् । पहिलो २ दिन विचार गर्नकै लागि केही खुकुलो बनाउने र त्यसपछि लापरबाही बढे कडा गर्ने प्रशासनको तयारी रहेको छ ।

नागरिकले लकडाउनको कडाइका साथ पालना नगरे त्यसपछि लकडाउन कडा बनाउने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीकालिप्रसाद पराजुलीले जानकारी दिए ।

‘आज पनि हामी काठमाडौं भित्रिने मुख्य नाका नाकढुंगामै छौँ । बाहिरबाट आउनेहरुहरुलाई अलपत्र नपरुन भन्नका लागि उहाँहरुलाई गन्तव्यसम्म आउने व्यवस्था गरेका हौँ । आज पहिलो दिन भएर पनि त्यति कडाई गरिएको हो । तर मानिसहरुको आवतजावत नरोकिने हो भने सम्भवत भोलिदेखि नै झन कडाईका साथ लागिनेछ ।’ उनले लोकपथसँग भने ।

उनका अनुसार बिहीवारबाट शुरु हुने लकडाउनमा अत्यावश्यकबाहेक सबै सेवा, व्यापार, सार्वजनिक र निजी सवारी, र हिडडुलमा समेत प्रतिबन्ध लगाइने छ । एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनका लागि खटिएका सवारी सञ्चालन हुन पाउँने छन् । खाद्य सामग्री पसलहरू दैनिक बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

सरकारी कार्यलय, बैंक, वित्तिय संस्था, सरकारी कर्मचारी लगायतको हकमा भने अफिसको आइडीकार्डले आवतजावत गर्न पाइने छ । संचारकर्मीको हकमा पनि आफू कार्यरत मिडिया हाउसले जारी गरेको आइडी कार्डले आवतजावत गर्न दिने गरी व्यवस्था मिलाइएको छ । तर पत्रकारका नाममा नक्कली आइडी कार्ड बनाएर हिँडेको थापा पाए वा भेटेमा उनीहरुबारे पनि निगरानी र अनुगमन गर्ने र त्यस्तो थाहा पाए कारबाही गर्ने पनि पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?