पूर्वी भारतमा समस्या उत्पन्न गराउन म्यानमारका सेनालाई सहयोग गर्दै चीन

नयाँ दिल्ली । चीनले पूर्वी भारतमा समस्या उत्पन्न गराउन र स्थिति भड्काउनका लागि म्यानमारको सेनालाई सहयोग गर्ने र उनीहरुलाई उक्साउने काम गरिरहेको छ ।

म्यानमारमा फेब्रुअरी १ मा भएको सैन्य कू मा चीनको हात रहेको भन्ने कुरा अब विश्व समुदाय जानकार भइसकेको छ । म्यानमारका जनताले पनि सैन्य कू मा चीनले म्यानमारको सेनालाई सहयोग गरेको भन्दै चिनियाँ लगानी भएका संरचनाहरुमाथि आक्रमण गरिरहेका छन् ।

प्रजातन्त्र पुनर्स्थापना, निर्वाचित नेता तथा सांसदहरुको रिहाइको माग गर्दै सडक आन्दोलनमा होमिएका प्रजातन्त्रवादी प्रदर्शनकारीहरुले म्यानमारमा रहेका चिनियाँ उद्योग, कलकारखाना र व्यवसायमाथि आगजनी, तोडफोड गर्नुका साथै चिनियाँ नागरिकहरुमाथि पनि आक्रमण हुन थालेको छ । चीनले आफ्नो लगानी भएका उद्योगहरुमाथि आक्रमण हुन थालेपछि प्रदर्शनकारीमाथि गोली चलाउन र आफ्नो लगानीको संरक्षण गर्न म्यानमार सेनालाई चेतावनी दिएको छ ।

जसका कारण म्यानमारमा रक्तपातपूर्ण स्थितिको सिर्जना भएको छ ।

उक्त रक्तपातको विश्व समुदायले विरोध गरे पनि चीनले भने मौन समर्थन जनाएको छ । चीन र भारतीय विद्रोही समूह (आईआईजी) ले म्यानमारको सेनालाई सहयोग गरिरहेको भन्ने पूर्ण जानकारी म्यानमारका जनतालाई भएको अवस्थामा म्यानमारका जनताको आक्रोश थप बढ्ने निश्चित छ ।

म्यानमार सेनाले चीनले भारतविरुद्ध हिंसा भड्काउन प्रयोग गरिरहेका आईआईजीहरुबाट युनाइटेड लिबरेशन फ्रन्ट अफ असम (उल्फा –१), नागाल्याण्ड–खप्लालन्गको राष्ट्रिय समाजवादी काउन्सिलजस्ता आतंकवादी समूहका व्यक्तिहरुलाई सेनामा भर्ती गरिरहेको छ ।

यसले म्यानमार थप हिंसा र रक्तपातपूर्ण स्थिति सिर्जना हुने आँकलन गरिएको छ भने सोही विद्रोही आतंकवादीहरुले भारतको उत्तरपूर्वी क्षेत्रमासमेत तनाव सिर्जना गर्न प्रयोग गरिने आँकलन गरिएको छ । भारतले विद्रोही तत्वले उत्तरी पूर्वी क्षेत्रमा त्रासपूर्ण समस्याहरु सिर्जना गर्न चीनले समर्थन गरिरहेको आरोपसमेत लगाएको छ ।

भारत र चीनबीच तनाव बढिरहेको अवस्थामा २०२० को अक्टोबरमा विद्रोही समूहका चार जना मिलिसियाहरु चिनियाँ सहर कुन्मिनमा प्रशिक्षण लिइरहेको र हतियारको स्रोतबारे छलफल गरिरहेको बताइएको थियो । एक स्वतन्त्र थिंक टयांक युरोपियन फाउन्डेसन फर साउथ एसियन स्टडिज् (ईएफएसएस) ले चीनले भारतको उत्तरपूर्व क्षेत्रमा तनाव सिर्जना गर्न विद्रोही समूहहरूलाई हतियार प्रदान गरेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ध्यानाकर्षण गराएको थियो । ईएफएसएसले भनेको छ, “चीनले भारतको पूर्वी क्षेत्रका परियोजनाहरुमा बाधा उत्पन्न गराउने उद्देश्यले विद्रोही समूहहरुलाई तालिम दिने र हतियार उपलब्ध गराउने गरेको छ ।”

म्यानमारको सञ्चारमाध्यम इराबड्डीका अनुसार थाइ प्रहरीले केही विद्रोहरुबाट चिनियाँ हतियारसहितका मिलिसियाहरुलाई नियन्त्रणमा लिएको थियो । उक्त हतियार चीनबाट म्यानमार लैजान लागेको पक्राउ परेका मिलिसियाले बयान दिएका थिए । यद्यपि एक अनुसन्धान अधिकारीले भने उक्त हतियार भारत लैजाने योजना रहेको बताएका छन् ।

चीनले आईआईजीलाई विभिन्न किसिमका क्षमता अभिवृद्धिमा सहयोग पुर्‍यार्इ रहेको छ । भारतीय गुप्तचर एजेन्सीहरूले चीनले अल्फा –१ का परेश बरुआह, एनएससीएन–आईएमका हंकशी तांगखुल र टी आर क्याल्विनलाई शेल्टर दिएको दाबी गरेको छ । अल्फा –१ का बरुआह चीनको युन्नानमा बस्दै आएको कुरा कसैबाट लुक्न सकेको छैन । उनी आफैंले पनि विभिन्न अन्तर्वार्ताहरुमा आफू चीनको युनानमा बसिरहेको बताउने गरेका छन् ।

अल्फा –१ ले २०२० मा एक भिडियो जारी गर्दै सीमा विवादका विषयमा चीनको पक्षमा वकालत गर्नुका साथै भारतको विरोध गरेका थिए । यसबाहेक, २०१७ मा तिब्बतका आध्यात्मिक धर्मगुरु दलाइ लामाको अरुणाञ्चल प्रदेशको भ्रमणका सन्दर्भका पनि उनले चीनको पक्ष लिएका थिए । हाल म्यानमारमा भएको सैन्य कूमा पनि उनले समर्थन गर्दै चीनको पक्ष लिएका छन् । म्यानमारमा प्रदर्शकारीहरुमाथि भइरहेको रक्तपातपूर्ण दमनमा पनि उनको भूमिका रहेको छ ।

एनएससीएन–आईएम अहिले म्यानमार सेनाका भर्ती भएको छ भने उक्त विद्रोही संगठनका नेताहरुले विभिन्न अवसर पारेर चीन भ्रमण गरिरहेका छन् । अल्फा १ का शीर्ष नेता फुगलन्ग्ट भारतलाई आफ्ना समस्या समाधान गर्न चीनको सहयोग लिनुपर्नेसमेत चेतावनी दिए ।

सन् २००० मा एनएससीएन–आईएमका नेता एन्थोनी शिम्रे बैंकक हुँदै चीन पुगेका थिए । उनले त्यहाँबाट ठूलो परिणममा हतियार खरिद गरेका थिए । सन् १९६२ को चीन–भारत युद्धको लगत्तै चीनले नागा विद्रोहीहरूलाई प्रशिक्षण दिन थालेपछि एनएससीएन पनि चीनको आईआईजीलाई सहयोग पु¥याउन चीनको भूमिकामा म्यानमार प्रमुख खेलाडी बन्न पुगेको थियो । चिनियाँ हतियारहरू म्यानमारमा विद्रोही समूहलाई पनि तस्करी गरिएको थियो ।

भारतले अलगाववादी आन्दोलनलाई ध्वंश पार्न विशेष चनाखो हुनुपर्ने थिंक ट्यांकको सुझाव रहेको छ । नयाँ दिल्लीले उत्तरपूर्वी क्षेत्रमा भइरहेको चिनियाँ हतियारको तस्करीबारे विभिन्न समयमा प्रमाणहरु पेश गरेको छ । डिफेन्स थिंक ट्यांक जेन्स इन्टेलिजेन्स रिभ्युले चीनले कम्बोडिया र थाइल्याण्डमा रहेका विद्रोही समूहहरुलाई हतियार उपलब्ध गराएर उत्तरी पूर्वी भारत र म्यानमारमा पठाउने गरेको खुलासा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?