काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा हिजो (शुक्रवार) खेलिएको एकमात्र खेलमा पंजाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ३४ रनले पराजित गरेको छ।
कप्तान के.एल. राहुलको उत्कृष्ट ब्याटिङमा पंजाबले टस हारेर पहिलो ब्याटिङ गर्दै १७९ रनको योगफल तयार गरेको थियो। राहुलले अविजित ९१ रनको पारी खेल्दा क्रिस गेलले ४६ रन जोडेका थिए। क्यामियोका रूपमा हरप्रित ब्ररले १७ बलमा अविजित २५ रन बनाए। यस संस्करणका सर्वाधिक विकेटकर्ता हर्षल पटेलले पंजाब विरुद्ध कुनै विकेट लिन सकेनन्। अझै, उनले व्यक्तिगत ४ ओभरमा १३.२५ को औसतले ५३ रन खर्चिए।
जवाफी ब्याटिङमा बैंगलोरले निर्धारित २० ओभरमा मात्र १४५ रन बनाउन सफल भयो। एक चरणमा राम्रो ब्याटिङ गरिरहेको बैंगलोर पंजाबका बलर हरप्रित ब्ररको सामु निरिह देखियो। हरप्रितले ७ बलको अन्तरालमा बिना कुनै रन खर्चेर बैंगलोरका कप्तान विराट कोहली, ग्लेन म्याक्सवेल र एबी डेभिलियर्सलाई पविलियन फर्काउन सफल भए। त्यसपछि बैंगलोरको ब्याटिङमा कोहि पनि चलेनन् र खेल पंजाबको पक्षमा गयो। आफ्नो उत्कृष्ट बलिङ र सुन्दर ब्याटिङ क्यामियोको लागि ब्रर खेलको ‘म्यान अफ दि म्याच’ पनि घोषित भए।
यो जितसँगै पंजाब अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने बैंगलोर तेस्रो स्थानमा अड्केको छ। यी दुई टोली बिच केवल मुम्बई इण्डियन्स रहेको छ जो आज (शनिवार) को एकमात्र खेलमा चेन्नई सुपर किंग्सको सामना गर्दै छ। आईपीएलको ‘ब्लकबस्टर’ मानिने मुम्बई र चेन्नईको खेल दिल्लीको अरुण जेट्ली स्टेडियममा साँझ ७:४५ बजे शुरु हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया