‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

बिप्लव जमकटेल/चन्द्रकला कार्की – आराध्यादेव पशुपतिनाथस्थित बाग्मती आर्यघाटको छेवैमा चिताबाट आएको ह्वास्स गन्ध छल्दै वर पुलमा बसेर नियालिररहेका छौँ हामी ।

केहि दिन अघि मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाएर अन्त्येष्टिका लागि विद्युतिय शवदाह गृहमा ल्याईएका शवहरु बाग्मतीको पल्लोपट्टी किनारामा जले ।

अन्तिम बिदाईमा समेत फुर्सदले जल्न पाएनन् शवहरुले ।

आफ्नो प्रिय पात्रलाई सदाका लागि गुमाएका आफन्त र परिवारले समेत अन्तिम बिदाई त के ! सँगै गएकाहरुसँग पनि देखादेख मात्रै गर्न पाए ।

भावविह्वल र त्रसित मुद्रामा आफन्तले शवलाई परबाट हेर्न विवश भएका दृश्यले सामाजिक सञ्जालसमेत करुणाले भरिएको थियो ।

परिवार, आफन्त, ईष्टमित्र, छिमेकी भनेको जिउँदाको जन्ति र मर्दाको मलामी हुन् । तर कोरोनाले यस्तो समय खडा गरेको छ कि छोराछोरीले समेत बाबुआमाको शवमा काँध दिन पाएनन् ।

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन निर्देशिकाको बुँदामा मास्कको अनिवार्यता छुटेको छैन । त्यसैले अन्तिम बिदाईमा पुगेकाहरुलाई भक्कानो फुटेर आउँदा चिच्चाहटसहित मनको वह पोख्ने अनुमतिसम्म छैन। मलामीहरु एकअर्कासँग तर्किएर उभिनुपर्छ ।

बेवारिसे अवस्थामा देख्दा शत्रुले पनि सहयोग गर्ने नेपालीको संस्कार छ । यस्तो पहिचान बोकेका हाम्रा लागि विश्वभरी आतंक फैलाएको कोरोनाले निम्त्याएको यो परिस्थिती कुनै थियटरमा मञ्चन गरिएको वियोगान्त कथाभन्दा कम्ता छैन ।

निषेधाज्ञाका कारण सडकमा सवारी गुडेका छैनन्। छिटफुट रुपमा गुडेका सवारीले अघिपछिजस्तो होहल्ला गरेका छैनन् । वातावरण शान्त छ । तर देखिएकाजति मानिसको मन अशान्त छ । उद्येलित छ । विचारहरुको विमर्श छ तर मास्क लगाएको कारण अनुहारमा कुनै भावभंगी देखिँदैन ।

अस्पतालबाट छोपछाप पारेर कुनै काठको मुडाजस्तो गरी शव पशुपति आर्यघाटसम्म ल्याईन्छ । यो अवस्थाले आफन्तको मनमा कति पिडा दिन्छ होला ?

म अघिपछि सामान्य अवस्थामा पशुपति दर्शन गर्न जाँदा ब्रम्हनाल नजिकै चीरनिन्द्रामा परेकाहरुका शव र कतै मालाले सजाएर जलाउन ठिक्क पारिएका दृश्य देख्दा डर लागेर अन्तै अन्तै हेरेर तर्कन्थे । भगवानलाई धन्यवाद दिएर मन्दिरबाट निस्केको म बाहिरको यस्तो अवस्था देखेर भगवानसँग उल्टै रिसाउँथे । तर अहिलेको यो अवस्था देखेर म निशब्द भएको छु ।

कोरोनाले निम्त्याएको भयावह भनिसाध्य छैन । छिमेकि राष्ट्र भारतमा कोरोनाका कारण मृत्यु भएकाको शबहरुको बिजोग हुँदै आइरहेकोबारे नेपालीहरु बेखबर छैनन् । भारतमा अस्पताल बेड नपाएर अक्सिजन लिएर रुखको फेदमा बसेकि बुढि आमाको तस्वीरले सारा विश्वलाई रुवाएको छ । नेपालमा पनि संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अस्पतालमा बेड र अक्सिजनको समेत चरम अभाब भइरहेको छ ।

मनमा यिनै भावना उद्येलित हुँदै गर्दा कोरोनाका कारण ज्यान गुमाएका एक जना पुरुषको शव आईपुग्छ । म भय मिश्रीत नजर उतैतिर घुमाउँछु । एक जना अधबैंसे महिला (मृतककी श्रीमति) ले शव राखिएको स्ट्रेचरमा परबाट एक थुंगा फूल चढाईन् र शरीर कपाउँदै चिच्याईन्, ‘भगवान् ममाथि के बज्रपात आईलाग्यो ?’ मेरो भगवान् उठिदेउ न घर जाऔँ !’

नेपाली सेनाको शव व्यवस्थापन टोलीले उक्त शव विद्युतिय शवदाह गृहतर्फ लगे।

***

त्यसपछि हामी पशुपतिनाथ मन्दिरको पारिपट्टी जाँदै थियौँ ।

नजिकैको सत्तलमा लमतन्न भएर सुतेका केहि मानिसहरुतर्फ पुगेर हाम्रो नजर रोकियो ।

न मास्क, न सेनीटाईजर । केही ईन्चको दूरीमा लम्पसार उनीहरुमध्ये एक जनाले कोरोना जोखिम बढेको डरले प्लास्टिकले आफूलाई गुटुमुटु बेरेका रहेछन् । जिज्ञाशा राख्दा उनी बोलेनन् । नजिकै सुतेका अर्काले भने, ‘कोरोनाको डरले यो यसरी नै सुत्छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?