माओवादी द्वन्द्वका बेला मिथक मानिएका रामबहादुर थापा ‘बादल’ पछिल्लो समय असफल गृहमन्त्री मात्र भएनन्, चरम अवसारवादी र उत्तिकै पदलोलुप पनि देखिए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सारथी थिए बादल । रुसमा पढेका, सैन्य विज्ञानमा पोख्त, छापामार युद्धकला जानेको भनेर भूमिगत कालमा उनी कस्ता होलान् भनेर धेरैको जिज्ञासा रहन्थ्यो । राजनीतिमा परिवारवाद र अवसरवाद हाबी भयो भन्दै उनी त्यस विरुद्ध माओवादी द्वन्द्वका बेला लडे । तर जब खुला राजनीतिमा आए तब परिवारवाद, नातावाद र कृपावादका उनी आफै पर्याय बने । २०७८ जेठ ६ मा गृहमन्त्रीबाट पदमुक्त भएका बादल पार्टी परिवर्तन गर्दै लाभको पदमा अवसर लिइरहने नेताका रुपमा चिनिएको उनका समकक्षीको मुल्याकंन छ । आफू मन्त्रीबाट हटेपनि २०७८ जेठ २७ मा श्रीमती नैनकला थापालाई पनि मन्त्री बनाउन सफल भए बादल ।
नेपालमा गणतन्त्र स्थापनाका लागि लामो समय लडेका ६६ वर्षीय बादल ‘नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाडामा चढेर अमेरिका जानु जस्तै हो’ भनेर आन्दोलनलाई नै होच्याउने एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको ‘किचन क्याविनेट’ का महत्वपूर्ण हस्ती भएका छन् अहिले ।
प्रचण्डले पत्याएका बादल
रामपुर कृषि क्याम्पस चितवनबाट स्नातक गरेका बादलको अध्ययनकै क्रममा २०३१ मा प्रचण्डसँग चिनजान भएको हो । त्यसपछि मार्क्सवाद अध्ययन समूह बनाएर नेपाली कम्युनिष्ट आन्दोलनमा लागेका बादललाई प्रचण्डको प्रस्तावमा २०४२ मा माओवादी केन्द्रका नेता अमिक शेरचनले कम्युनिष्ट पार्टीको सदस्यता दिएका थिए ।
बादल २०४२ मै नेकपा मशालको केन्द्रीय सदस्य बनेका थिए । त्यसपछि बादल २०५२ मा शुरु भएको माओवादी द्वन्द्वका बेला प्रचण्डसँँगै लागे र निकटका पात्र बने ।
सरकारमा पहिलो इनिङ
भूमिगत रुपमा रहेको माओवादी द्वन्द्व छोडेर शान्ति प्रक्रियामा आएपछि २०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचन माओवादी पहिलो पार्टी बन्यो । प्रचण्ड प्रधानमन्त्री बने । चितवनबाट संविधान सभामा निर्वाचित बादल २०६५ भदौमा रक्षामन्त्री बनेर सिंहदरवार प्रवेश गरे । माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेसँगै सेना समायोजन गर्ने सरोकारवाला मन्त्रालयको नेतृत्वमा पुगेका बादलले त्यस कामलाई अगाडि बढाउन सकेनन् । बरु बादलकै नेतृत्वमा रहेको मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले रुक्माङ्गत कटवाललाई सेना प्रमुखबाट हटाउने निर्णय ग¥यो । तर, त्यो निर्णयलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले उल्टाइदिए । त्यही प्रकरणमा प्रचण्ड नेतृत्वको सरकार ढल्यो । २०६६ जेठ ११ मा बादल पनि पदमुक्त भए ।
खुला राजनीतिमा आउने बित्तिकै २०६४ भदौ १३ मा बादलले आफ्नी श्रीमती नैनकला थापालाई ५ बर्षका लागि राष्ट्रिय महिला आयोगमा नियुक्ती दिलाउन सफल भए । माओवादीमा अरु सक्षम महिला नेतृहरु हुँदा हुँदै प्रचण्डको आर्शिवादले आफ्नी श्रीमतीलाई नियुक्ति दिलाउन सफल भए ।बादल पत्नी नैनकलालाई आयोगकी अध्यक्ष रहँदा आर्थिक लाभ हासिल गरेको आरोप धेरैको स्मरणमा अझै पनि ताजै छ ।
पार्टी फुटाएर अर्काे पार्टी गठन
माओवादी नेतृत्वको सरकार ढलेपछि पार्टी भित्र आन्तरिक कलह चर्कियो ।प्रचण्डका विश्वास पात्र बनेका बादलले माओवादी केन्द्रलाई विभाजन गरेर २०६९ असार ४ मा मोहन वैद्य, र नेत्रविक्रम चन्द विप्लवसँग मिलेर नेकपा क्रान्तिकारी माओवादी गठन गरे । उनी क्रान्तिकारी माओवादीका महासचिव बने ।तर उनी त्यहाँ पनि धेरै टिकेनन् । बैद्यहरुले उनलाई अवसरवादी भने ।
फेरि प्रचण्डकै पछि
वैद्य र विप्लवसँग मनमुटाव भएपछि २०७३ जेठमा बादल फेरि प्रचण्डसँग मिसिन पुगे । प्रचण्डले पनि आफूसँग छुट्टिएर गएका बादल फेरी पार्टीमा फर्किदा स्वागत मात्रै गरेनन्, सम्मानजनक पदमा पनि राखे ।प्रचण्डसँग छुट्टिएर जाँदा ‘संसदीय भास’ मा फसेको आरोप लगाएका बादल फेरि संसदीय भासमै फर्किए । बादललाई चिन्नेहरु अवसरका लागि जे पनि गर्न सक्ने नेताका रुपमा लिन्छन् । भूमिगत कालमा उनको जति प्रचार हुन्थ्यो । त्यसअनुरूप खुला राजनीतिमा आएपछि न उनले नेतृत्व–क्षमता देखाउन सके, न त प्रभावकारी प्रस्तुति नै । तर अवसर लिन भने कहिले चुकेनन् ।
सिंहदरवारमा दोस्रो इनिङ
आफ्नो माउ पार्टी छोडेर गएका बादलले प्रचण्डसँग अंकमाल गरेर पार्टीमा फर्किएपछि उनलाई सत्ता राजनीतिको बाटो फेरि खुल्यो । आफ्ना कलेज पढ्दादेखिकै पुराना सहपाठी बादललाई प्रचण्डले उच्च प्राथमिकतामा राखे ।
२०७४ को आमनिर्वाचन पछि प्रचण्डले बादललाई राष्ट्रियसभा सदस्यदेखि गृहमन्त्री बनाउनेसम्मको भूमिका खेले । एमाले र माओवादी गठबन्धन गरेर निर्वाचनमा भाग लिए । प्रतिनिधि सभामा गठबन्धनले बहुमत ल्यायो । २०७४ फागुन ३ मा एमाले र माओवादी सम्मिलित सरकार बन्यो । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री बने । माओवादीका तर्फबाट बादल फागुन १४ मा गृहमन्त्री बनेर दोस्रोपटक सिंहदरवार छिरे । मन्त्री भएको सुरुआती दिनमा उनले केही काम गर्न खोजेको छनक दिए । तर त्यो हावादारी सावित भयो ।
८२ बुँदे गृह प्रशासन सुधार योजना जारी गरे । यातायात सिन्डिकेटविरुद्ध लाग्ने प्रतिवद्धता जनाए । सुन तस्करी काण्डको छानबिन बढाए । सडक निर्माणको ठेक्का लिएर अलपत्र पार्ने ठेकेदारहरूविरुद्ध कडा अभिव्यक्ति दिए । उनी रातारात ‘लोकप्रिय’ हुन खोजे । तर सिन्को पनि भाँच्न सकेनन् ।
जता अवसर उतै बादल
२०७५ जेठ ३ मा एमाले र माओवादी मिलेर नेकपा बन्यो । नेकपामा विस्तारै आन्तरिक कलह चर्किदै गयो । प्रधानमन्त्री ओलीले पार्टीमा एकलौटी गर्दै जान थालेपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले ओलीको व्यवहारप्रति असन्तुष्टि जनाउन थाले । नेकपामा आन्तरिक कलह चर्किएकै बेला २०७७ पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बिघटन गरे । बादलले ‘प्रतिनिधि सभा विघटन ओलीको साहसिलो कदम’ भनेर बिघटनको विरोध गर्ने प्रचण्ड र नेपाल लगायत विपक्षीलाई चिडियाखानामा लगेर राख्नु पर्ने अभिव्यक्तिसम्म दिन भ्याए ।
प्रतिनिधि सभा विघटन विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भयो । अदालतले फागुन ११ मा संसद पुर्नस्थापना गर्यो । फागुन २३ मा सर्वाेच्चले अर्काे एउटा फैसला गर्यो त्यो थियो नेकपा नामका विषयमा । सर्वोच्चले नेकपा नाम ऋषि कट्टेलको पार्टीसँग मिलेको भन्दै एमाले र माओवादीलाई पूर्ववत रुपमा ब्यूँताइदियो । बादल माओवादी छोडेर एमालेको ओली गुटमा लागे । वर्षाै देखिका सहपाठी प्रचण्डलाई उनले धोखा मात्रै दिएनन्,दाहालविरुद्ध भाषण पनि ठोक्दै हिडे । ओलीतिर लागेपछि माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका बादलको पद गयो ।
यहि जेठ ६ मा भएको राष्ट्रिय सभा बागमती प्रदेश उपनिर्वाचनमा बादल ओली पक्षबाट उम्मेदवार बने । तर पराजित भए । सांसद नभएको व्यक्ति मन्त्री भएको विषयमा सर्वाेच्चमा परेको रिटको पनि त्यहि दिन सुनुवाई भयो । सांसद नभएको व्यक्तिलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन सर्वाेच्चले आदेश दिएसँगै बादल सहित माओवादीबाट एमालेमा गएका मन्त्रीको पद गयो ।बादल पदविहिन भए ।
आफू नभएपछि श्रीमतीलाई मन्त्री
प्रधानमन्त्री ओलीले जेठ ७ मा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ का लागि निर्वाचनको मिति तोके । त्यस विरुद्ध विपक्षी गठबन्धन सर्वाेच्च पुगेको छ । दोस्रा पटक प्रतिनिधि सभा विघटन गरेका ओलीले जेठ ७ यता दुईपटक मन्त्रिपरिषद् विस्तार गरे । उनले जेठ २१ र २७ गते मन्त्रिपरिषद विस्तार गरे जसमा बादल पत्नी नैनकलालाई संचार तथा सूचना प्रविधि मन्त्री बनेकी छिन् ।
बादलकै चाहनामा नैनकलालाई मन्त्री बनाइयो । उनले २०६४ मा पनि नैनकलालाई महिला आयोगको अध्यक्ष बनाउन प्रचण्डलाई दवाब दिएका थिए । नातावाद, कृपावाद र परिवारवादको विरोध गरेर वामपन्थी राजनीतिमा आएका बादल अहिले आफै परिवारवादको पर्याय बने ।
कार्यकर्ता पंक्तिको चाहना : बादलविहिन एमाले
हाल एमाले नेता बनेका बादल तत्कालीन माओवादी द्वन्द्वको सुरुवात देखिनै नेतृत्व तहमा रहेका तर कमजोर संगठक हुन् । पार्टीको महासचिवको जिम्मेवारी पटक–पटक पाए पनि उनमा संगठन क्षमता नभएको माओवादी नेतृत्वले बताउने गरेको छ । माओवादी वृत्तमा शैन्य विज्ञको पगरी गुथाइएका बादलमा शुरुदेखि नै अवसरवादी स्वभाव देखिएको थियो ।
प्रचण्डलाई छोडेर ओलीतिर लाग्दा बादललाई आफ्नो सचिवायलका सदस्यहरुको समेत साथ दिएनन् । उनका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले उनको साथ छाडे । अवसरका लागि एमालेमा गएका बादल एमालेका नेता कार्यकर्तासँग जोडिन नसकेका एमाले नेताहरुको भनाई छ ।
पुरानो घर छाडेर नयाँ घरतिर लागेका अवसरवादी चरित्रका बादलको आगामी राजनीतिक यात्रामा बादल लाग्ने त होइन ? किनकी एमालेमा उनी नवप्रवेशी हुन् । एमालेको संगठन र पार्टी संचालनबारे उनलाई खासै ज्ञान छैन् । ओलीको साथमा बादल उभिए पनि कार्यकर्ता पंक्ति भने बादलविहिन एमाले चाहन्छ ।
बादल पत्नी नैनकलालाई मन्त्री बनाउँदा एमाले पंक्ति प्रधानमन्त्री ओलीसँगसँगै बादलसँग पनि थप चिढिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया