भनिन्छ, प्रेम अथाह छ । यो अद्भुत छ । अदृश्य शक्ति भएकै कारण प्रेमलाई महसुस मात्रै गर्न सकिन्छ । यसो भनिरहँदा तपाईंको मनमा के आयो ? हामी अनुमान गर्न सक्छौँ, पक्कै पनि तपाईंले यी शब्दसँग पछिल्लो समय युवापुस्ताले खुट्याउन नसकेको प्रेम र आकर्षणलाई सँगै उभ्याउनुभयो होला । तर आज हामी तपाईंसँग एउटा यस्तो प्रेम र सफलताको कथा साट्दै छौँ, जुन सुने देखेपछि तपाईंले प्रेम, करिअर र सफलता सँगसँगै सम्भव रहेछ भन्ने थाहा पाउनुहुनेछ ।
यो कथा हो, अधिवक्ता दम्पत्ती अमिता गौतम पौडेल र कीर्तिनाथ शर्मा पौडेलको।
यसरी फक्रियो प्रेम
अमिताको परिवार बैंकिङ क्षेत्रको । कृषि विकास बैंकमा उपसचिव रहेका बुबा र शाखा अधिकृत रहेकी आमाको ४ जना सन्तानमध्ये जेठी अमिताको पढाइलेखाइ आमाबुबाको सरुवा जुन स्थानमा भयो त्यहीँ नजिकको स्कुलमा भयो । एसएलसिपछि बुबाको रोजाइको विषय अध्ययन गरेकी हुन् अमिताले ।
यता बाग्लुङमा जन्मिएका कीर्तिनाथ बुबाआमाको तेस्रो सन्तान हुन् । वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा र विजयालक्ष्मी शर्माका सुपुत्र कीर्तिनाथले स्कुले शिक्षा विद्यामन्दिर माविबाटै लिए । तर उनमा कानुन पढ्ने हुटहुटी स्कुले उमेरदेखि नै थियो । कारण उनको बुबाको सफलता ।
हरेक सफल जोडीले प्रेम र विवाहको सफलताको कसीका रूपमा उनीहरूले गरिरहेका कर्म वा पेसालाई पनि लिन्छन् । उनीहरू भन्ने गर्छन्, ‘मेरो काम वा पेसा बुझ्ने जीवनसाथी होस् ।’
हो, एउटै पेसालाई कर्मक्षेत्र रोजेका कीर्तिनाथ र अमिता जीवनसाथी हुनुअघि यो जोडीको भेट कामकै सिलसिलामा भएको थियो ।
प्रेमरूपी सम्बन्धको एक वर्षपछि विवाहबन्धनमा बाँधिएका यो जोडीले विवाहपछिको समय शानदार तरिकाले व्यतित गर्दै छन् ।कानुन, अदालत, मुद्दा मामिला, बहस, वादी प्रतिविदी, पक्ष विपक्षमा बहस गर्नु र सधैँभरि यसमा नै केन्द्रित हुनु चानचुने पेसा होइन । तर यी जोडीले यस पेसामा आएपछि निकै अनौठा र फरक अनुभूति गरेका रहेछन् ।
यो साँचो हो, मानव जीवन रहेसम्म उसका प्रशंसकसँग आलोचक पनि हुन्छन् । एउटै पेसा यो दम्पत्तीका लागि सहज थियो । तर इष्टमित्र र आफन्त अनि समाजको लागि भने प्रश्नचिह्न जन्माउने एउटा विषय पनि । तर यो जोडी कहिल्यै अल्मलिएन । किनकि उनीहरुका लागि समयसँगै हिँड्नु र असल मार्ग कोर्नु कर्म थियो ।
यो दम्पत्तीको लोभलाग्दो प्रेम र सफलता देखिसकेपछि कुराकानीको अन्त्यमा हामीले अर्को एक सान्दर्भिक जिज्ञासा राख्यौँ । पछिल्लो समय युवापुस्ताको प्रेम किन सफल हुन सकिरहेको छैन ?
वैवाहिक जीवन सफल असफल हुनुका पछाडि स्वयम् उनीहरु नै जिम्मेवार हुन्छन् । विश्वास, अनुशासनसहितको स्वतन्त्रता, एकअर्काप्रतिको मायाप्रेम, निरन्तरको सञ्चार सहयोग र हेरचाह । निरन्तरको सम्बन्धमा यी कुराहरु निकै महत्वपूर्ण रहेको ठहर गर्छ यो जोडी ।
आफ्नो सपना पूरा गरेर एउटै पेसाको अब्बल जीवनसाथी पाएको यो जोडीले आफ्नो पेसासँगै परिवार र एकअर्काको साथ, समर्पण, सहयोग र विश्वासलाई साँचो र सफल प्रेमको कसी मानेका छन् । त्यसैले उनीहरु खुसी छन् । सुखी छन् ।
अधिवक्ता अमिता गौतम पौडेल र कीर्तिनाथ शर्मा पौडेलको प्रेमकथा, करिअर र सफलताबारे जान्न तलको भिडियोमा क्लिक गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया