पशुपति क्षेत्र मगन्तेरहित घोषणा, मन्त्रीले भने यस्तो

काठमाडौँ, २० चैत – पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई आजदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ ।कोषले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिए ।उनले भने , “माग्ने, चोर्नेकाम विकसित देशमा पनि हुन्छ, यो घोषणा महत्वकांक्षी जस्तो लागेपनि सबैको सहयोगमा कार्यान्वयन गर्न सकिन्छ, यसमा सरकारले पूर्ण सहयोग गर्ने छ ।”कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक पर्यटक भित्रयाउने नेपालको प्रमुख तीर्थस्थल बनेको पशुपतिमा जाऔँ, आऔँ लाग्ने संरचना निर्माण गर्नुपर्छ भने ।कोषका सदस्यसचिव डा प्रदीप ढकालले धार्मिकस्थललाई मानवीय संवेदनाप्रति ‘ब्ल्याक मेलिङ’ गरेर पेशाका रुपमा माग्नेको संख्या धेरै रहेको सुनाए ।अध्ययनका क्रममा १८२ जना पशुपतिको मूल मन्दिरको परिषरमा माग्नेको तथ्यांक निक्लिएको छ, जसमा छ महिला मानसिक बिरामी भेटिएको कोषले जनाएको छ ।काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महांकाल मन्दिर परिषरमा पनि माग्नेको संख्या उल्लेख्य रहेको बताए । महानगरले ज्येष्ठ नागरिकका लागि मनोरन्जन केन्द्र निर्माण गर्न लागेको उनले जानकारी दिए ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीलगायतले पशुपति क्षेत्रलाई मगन्तेरहित बनाउने अभियानमा सवैको सहयोग रहने विश्वास व्यक्त दिए ।हालसम्म ८० मगन्ते आश्रमको गोँगबु र बूढानीलकण्ठ आश्रममा पुनःस्थापना भइसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?