भेटवालको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ, २१ चैत – अर्बुद रोगबाट दिवङ्गत नेकपा (एमाले) का नेता तथा पूर्वसांसद जागृतप्रसाद भेटवालको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ ।भेटवाललाई उहाँका कान्छा भाइ विनोदले दागबत्ती दिनुभएको थियो । अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलिका लागि अपराह्न २ः०० देखि ४ः३० बजेसम्म एमाले मुख्यालय धूम्रबाराहीमा उहाँको पार्थिव शरीर राखिएको थियो । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालयमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । यस्तै वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायत एमालेका शीर्ष नेता अन्त्येष्टिका लागि आर्यघाट पुग्नुभएको थियो ।आज बिहान वीर अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय भेटवालको निधन भएको थियो । उहाँ छ वर्षदेखि ‘प्रोष्टेट’ अर्बुद रोगबाट पीडित हुनुभएकामा पछिल्लो पटक एक महिनादेखि काठमाडौँमा उपचाररत हुनुहुन्थ्यो । उहाँ विसं २०४३ मा तत्कालीन पञ्चायत शासनविरुद्ध तत्कालीन नेकपा(माले)को समर्थनमा जनपक्षीय उम्मेदवारका रुपमा राष्ट्रिय पञ्चायतमा निर्वाचित हुनुभएको थियो । उहाँ विसं २०४८ र २०५१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवनबाट निर्वाचित हुनुभएको थियो ।एमाले केन्द्रीय लेखा आयोगका सदस्य भेटवाल विसं २०४६ फागुन ७ गते नेपाल कम्युनिष्ट पार्टीको झण्डा बोकेको हुनाले राज्यपक्षबाट मुद्दा लगाएर कारागारमा पर्नुभएको एमाले चितवन जिल्ला अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । पछि बहुदलीय व्यवस्था आएपछि उहाँ कारागारबाट छुट्नुभएको थियो । यस्तै विसं २०६२÷०६३ को आन्दोलनमा पनि उहाँँले पाँच महिना कारागार जीवन बिताउनुभएको थियो । उहाँका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।एमाले नेता माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै भेटवालको निधनले नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षति पु¥याएको बताउँदै उहाँले नेपालको वामपन्थी आन्दोलनाई लोकप्रिय बनाउने काम गरेको जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?