डा. गुरु प्रसाद सुवेदी– धर्मको दृष्टिले नागलाई देवताको रूपमा मानिन्छ । नाग देवताको उपासना वा पूजा गर्नाले वृष्टि समयमा हुन्छ । आकाशबाट वृष्टि बढी हुने, चट्याङ पर्नेजस्ता प्राकृतिक विपत्तिहरूबाट नाग देवताले जोगाउन सक्छन् भन्ने विस्वासले पनि आज नागपञ्चमी मनाउने गरिन्छ ।
नागको पूजा साउन महिनामै किन गरिन्छ र त्यसमा पनि पञ्चमी तिथिमै किन गर्ने भन्ने जिज्ञासा पनि हुनसक्छ । हाम्रो सनातन धर्ममा १५ वटा तिथिहरू रहेका छन् र ती तिथिहरू एक–एक देउताको नाममा हुनेगर्छ । अग्नि प्रतिपदा, ब्रम्हा दृतीया, गौरी तृतीया, गणेश चतुर्थी, नागपञ्चमी भनेर एक–एक तिथिमा एक एक देवतासँग सम्बन्धित रहेको हुन्छ ।
यो साउनको पञ्चमी तिथि नागसँग सम्बन्धित भएको कारणले नागपञ्चमी मान्ने चलन छ । त्यसमा साउन महिनालाई शिवको महिना पनि भनिन्छ । मनसँग सम्बन्धित चन्द्रमा, त्यो चन्द्रमालाई शिरमा धारण गर्ने शिवजी । मानसिक सन्तुलनका देवता भनेर शिवलाई नै मानिन्छ । गंगा र नागलाई शिरमा राख्ने देवता भएको हुनाले यसको सांस्कृतिक दृष्टिलाई कल्पना गरेर यो चिन्तन बनाइएको हो ।
शिवसँग सम्बन्धित नाग मानेर नाग देवतालाई श्रावण महिनाको पञ्चमी तिथिमा बढी महत्व दिइएको हो । यो धार्मिक दृष्टिले विचार गर्दा आज नागपञ्चमीको दिन नागको पूजा दुध, अविर, सिन्दुर, दुबोले गर्ने धुपबत्ती नैवेदले गरेर सम्मान गर्ने एउटा धार्मिक परम्परा रहेको छ ।
यसको आध्यात्मिक र प्राकृतिक सम्बन्ध प्रकृतिसँग तादम्य रहेको छ । यो सम्बन्ध राम्रो नभइकन हाम्रो जीवन सुरक्षित हुन पनि सक्दैन । नाग यस्तो प्राणी हो जसले हाम्रो वातावरणमा रहेको दूषित पदार्थहरूलाई खिचेर मानवलाई उपयुक्त हुने किसिमको वातारण तयार गरिदिन्छ । वातावरणको सन्तुलनका लागि नाग देवता आवश्यक पर्छन् ।
अहिले वर्षाको समय भएको कारण वातावरण सन्तुलनमा रहेको छैन । जसको कारण मौसममा परिवर्तन भइरहेको हुन्छ भने हावापानी र तापक्रममा पनि परिवर्तन भइरहेको हुन्छ । यस्तो अवस्थामा नागले वातारणको सन्तुलन मिलाउन धेरै मदत गरिरहेको हुन्छ । प्रकृतिको जैविक सन्तुलनका लागि नाग देवता आवश्यक छ ।
दार्शनिक दृष्टिले हेर्दा आत्मा तत्व व्यापक छ । आत्माकै करण यो पृथ्वी, जल, तेज, आकाश, प्रकृति, पञ्च महाभूत पैदा भएको मानिन्छ । आत्मा नै मूल तत्व हो भनिन्छ । आत्मालाई पूर्ण रूपमा परमआत्मा पनि भनिन्छ । खुद्रा रूपमा विचार गर्दा हामी जीवआत्मा हुन्छौँ । पूर्ण परआत्मा जो ईश्वरलाई भन्छौँ । विष्णुलाई भन्छौँ विष्णुतत्वको रूपमा कुरा गरे पनि शिवतत्वको रूपमा कुरा गरे पनि त्यो पूर्ण परआत्माको अभिव्यक्तिका लागि गरेका हुन्छौँ ।
नाग देवता अरु आठवटा पनि रहेका छन् । ८ वटा नागको अष्ट प्रकृतिसँग छुट्टै सम्बन्ध रहेको हुन्छ । एउटा नागको नाम अनन्त पनि छ । जसको कुनै किसिमको अन्त्य छैन । त्यो ईश्वरीय सत्तासँग नजोडी अनन्त भन्न पाइँदैन । ईश्वरीय शक्तिसँग जोडेरै नागको पूजा गर्ने चलन रहेको छ ।
आत्माले व्यापकता पाएर पहिलो पटक प्रकट भएको कारण नागको पूजा गर्न थालिएको हो । पृथ्वीलाई धान्ने पनि नाग देवतै हुन् । एउटा सामान्य सर्पको रूपमा मात्र नागलाई हेरिनु हुन्न । नाग देवता आध्यात्मिक देवता हुन् । जसले यो भूमण्डल, पृथ्वी, वायुमण्डललाई आधार दिएका छन् । आकाशमा नागतत्व रहन्छ । जलभित्र पनि नागतत्व रहन्छ भनेर मानिन्छ ।
पानीको मुहान भएको ठाउँमा नाग पूजा गर्ने चलन त्यही भएर रहेको हो । यसले व्यावहारिक रूपमा पानीको मुहान भएको ठाउँमा फोहोर नगर्न हाम्रो समाजलाई शिक्षा दिन्थ्यो । नाग रिसाउँछन् भनेर डर देखाएर भए पनि हामीलाई प्रकृतिको रक्षा गर्न प्रेरित गरिरहेको थियो ।
नागलाई प्रकृतिको रक्षा गर्ने प्रतिकको रूपमा लिइन्छ । हामीले हाम्रो संस्कृतिलाई अवमूल्यन गर्दै यी नागहरूलाई नमान्ने प्रचलन पनि बढ्दै छ । हामी प्रकृतिप्रति इमानदार हुन नसकेर बेइमान हुन थाल्यौँ । जसको कारण प्रकृति रिसाएर विभिन्न ढंगले हामीलाई आपत् र विपत् गरिरहेकी छिन् । वातावरण असन्तुलन भएको देखिरहेका छौँ । पृथ्वीमा तापक्रम बढ्दै गएर ग्लोबल वार्मिङ, भूस्खलन, बाढी पहिरो आएर प्रकृतिको असन्तुलन बढिरहेको छ ।
हामी धर्मको नाममा प्रकृतिलाई सन्तुलनमा राख्नका लागि जे–जे कुराको उपासना गर्दछौँ तिनमा प्रमुख स्थान नागदेवताकै हुन्छ । त्यसैले सनातनदेखि तिनै नाग देवताको पूजा गर्छौँ र आज तिनै नाग देवताको पञ्चमीमा पूजा गर्छौँ ।
नेपालको हरेक क्षेत्रमा रहेका विभिन्न किसिमका संस्कृतिका रूपहरू प्रस्तुत गर्ने क्रममा सबै संस्कृतिको मूल वैदिक चिन्तन नै हो । तर धर्ममा आएको परिवर्तन सँगसँगै पूजाका विधिहरूमा परिवर्तनहरू आए । शिवको उपसना गर्दा पनि नाग, विष्णुको उपासना गर्दा पनि नाग, देवीको उपासना गर्दा पनि नाग । प्राचीन परम्पराहरूमा सबै देवताको उपासना नागसँग जोडिएका छन् ।
काठमाडौं उपत्यकामै पाशुपत क्षेत्र रहेको र यो स्थानलाई शिव भगवान्ले सबैभन्दा प्रिय मान्छन् । जहाँ शिव भगवान् छन् त्यहाँ उनका लिलासँग जोडिने अरु कुराहरू भेटिनु स्वभाविक हो त्यसैले यहाँ नागसँग सम्बन्धित नागदह, नागपोखरी आदिजस्ता स्थानहरू रहेका हुन् । काठमाडौंका नेवार समुदायले पनि नागको विशेष रूपमा पूजा गर्ने हुनाले यहाँ बढी प्रभाव देखिएको हो । उनीहरूले नाग परम्पराको सम्मान गरेको कारण यो देखापरेको हो ।
यो पर्व दुई पक्षबाट मनाइने गरिन्छ । दृश्य रूपमा आफ्नो ईष्ट देवसँग जोडेर मनाइन्छ । यो दिन नागको चित्रलाई ढोकाको माथि गुलियोबिनाका नैवेधहरू चढाउने । अर्को नागको थान, जलासयमा गएर पूजा गर्ने गरेर पनि मनाइन्छ भने भगवान् शिवालयको मूर्तिमा गएर पनि मनाउन सकिन्छ । यी सबै बाहिर देखाउने भौतिक रूप मात्र हो । आध्यात्मिक रूपमा यिनीहरूप्रति सम्मान भाव मनले देखाउने हो ।
हामी नागलाई मात्र नभएर प्रकृतिका अरु जनावरहरूलाई पनि पूजा गर्छौँ । विभिन्न व्यक्तिहरूको पूजा गर्छौँ । प्रकृतिका यी जीवहरू मानिसका लागि उपयोगी हुनेहुनाले हामीले पूजा गरेका हौँ । प्राणी पूजा गर्ने चलन आध्यात्मिक पक्ष हो । फूल, नैवेद, अक्षता आदिले गर्ने बाहिरी सार देखाउने मात्र हो । भावनाको पक्षबाट पूजा गर्नुपर्छ । देखावटी पक्षमा त तलमाथि भइहाल्छ ।
डा. गुरू प्रसाद सुवेदीसँग गरिएको कुराकानीको आधारमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया