त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा स्वास्थ उपचार खर्च पाइन्छ भन्ने कुरा सुन्दा विद्यार्थी अचम्ममा पर्छन् । स्नातक तह तृतीय वर्षमा अध्ययनरत विशाल पुरीलाई यस विषयमा सोध्दा उनी अचम्ममा परे । उनी भन्छन्, ‘हो र ! यस्तो पनि छ र, हावा भन्नुभएको त होइन नि ?’ सोही वर्षमा अध्ययनरत गणेश खड्कालाई पनि यसबारेका केही थाहा छैन । यी दुई प्रतिनिधि मात्र मात्र हुन् अधिकांशलाई यसबारेमा थाहा छैन ।
त्रिभुवन विश्वविद्यालयका अधिकांश कुराले सञ्चार माध्यममा प्राथमिकता पाए पनि यस विषयमा कसैले आवाज उठाएको पाइँदैन । त्रिविले प्रदान गरेको धेरै सेवा सुविधाको विषयमा अधिकांशलाई पत्तै हुँदैन । विद्यार्थी स्वास्थ्य उपचार कोषसम्बन्धी व्यवस्थाको बारेमा विद्यार्थीलाई थाहै छैन । यो व्यवस्थाले त्रिविमा अध्ययनरत विद्यार्थी बिरामी भएको अवस्थामा एक लाख रुपैयाँमा ९० प्रतिशतसम्म छुट पाउने व्यवस्था भए पनि यो सुविधा लिनबाट अधिकांश विद्यार्थी वञ्चित भएका छन् ।
नेपालको उच्च शिक्षाको ७० प्रतिशतभन्दा बढी विद्यार्थीको भार धानेको त्रिभुवन विश्वविद्यालयमा हाल इन्जिनियरिङ अध्ययन संस्थान, चिकित्सा शास्त्र अध्ययन सस्थांन, वन विज्ञान अध्ययन संस्थान, कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र कानुन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय सञ्चालनमा छन् भने ४० केन्द्रीय विभाग छन् । ती सम्पूर्ण विभागमा ४ लाख १५ हजार ७७७ विद्यार्थी अध्ययनरत छन् ।
१५ वर्षदेखि आंशिकलाई करार बनाउन आन्दोलनरत २ हजारभन्दा बढी आंशिक प्राध्यापकहरू पनि यसबारेमा कुरै गर्दैनन् । विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, शिक्षाध्यक्ष र सेवा आयोगमा ताला लगााउने जोस जाँगर लगाउने प्राध्यापक यसबारे विद्यार्थीलाई जानकारी दिन आवश्यक ठान्दैनन् । विद्यार्थीको नाममा राजनीति गरेर पसल थापेका विद्यार्थी संगठनलाई पार्टीको भक्तिगान गाउँदैमा फुर्सद छैन । उनीहरूलाई समेत यस विषयमा थाहा छैन । टाठाबाठाले आफ्ना मान्छेलाई भर्ति गरेका छन् ।
नेविसंघ त्रिवि एकाइ अवैधरुपमा प्राध्यापक क्वाटरमा बसेको मान्छे देख्छ विद्यार्थीले पाउने सुविधा देख्दैनन् । कम्युनिस्ट विचारधाराका प्रेम चलाउनेको टाउको फोर्छ र कर्तव्य ज्यान मुद्दामा पार्टीको सोर्सफोर्स लगाएर मुक्ति पाउँछ । उसलाई हिस्सा खोज्नु छ । अन्य विद्यार्थी संगठन पनि आफ्नो भाग खोज्छन् र खल्ती भरेर चुप लाग्छन् ।
९० प्रतिशत छुट पाइन्छ
त्रिवि सम्बद्ध शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूले स्वास्थ्य उपचार खर्चमा एक लाखसम्मको छुट पाउने व्यवस्था भए पनि थोरै विद्यार्थीले मात्र यो सुविधा उपभोग गर्दै आएका छन् । त्रिविका विद्यार्थी बिरामी भएको खण्डमा देशका विभिन्न ६० वटा अस्पतालबाट विद्यार्थीले स्वास्थ्य उपचार खर्चमा ९० प्रतिशत छुट पाउने व्यवस्था छ ।
क्याम्पसमा भर्ना हुँदै विद्यार्थीले स्वास्थ्योपचार कोषमा जम्मा हुनेगरी ५०० रुपैयाँ तिर्छन् । तर विद्यार्थीहरूले आफूले तिरेको पैसा कुन शीर्षकमा कति हो ? तिरिएको शुल्क केका लागि भन्ने थाहा नहुँदा र खोजी नगर्दा विद्यार्थीहरू सेवाबाटै वञ्चित छन् । विद्यार्थी स्वास्थ्योपचार कोषसम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१’ले ‘विद्यार्थी स्वास्थ्योपचार कोष’ स्थापना गरेसँगै विद्यार्थीले उपचारबापत पाउने सो छुट सुविधाका बारेमा क्याम्पसले समेत विद्यार्थीलाई सुझाउने नगरेको विद्यार्थीहरू बताउँछन् ।
कतिले लिन्छन् सुविधा ?
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५–०७६ मा २१९ विद्यार्थीले स्वास्थ्य उपचार कोषबाट उपचार खर्च लिए । त्यसैगरी आर्थिक वर्ष २०७६–०७७ मा १९५ र आर्थिक वर्ष २०७७–०७८ मा १०२ जना विद्यार्थीले स्वास्थ्य उपचार खर्च लिएका छन् ।
उपत्यकाका विद्यार्थीको हकमा त्रिवि शिक्षण अस्पताल (टिचिङ)बाट विद्यार्थीले यो सुविधा लिन पाउने व्यवस्था छ । तर त्रिविमा वार्षिक करिब ३० जनाले मात्र यो सुविधा लिने गरेका छन् । ‘प्रक्रिया पु¥याएर आएका विद्यार्थीलाई हामी यो सुविधाबाट वञ्चित गर्दैनौँ ।’ त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारी भन्छन्, ‘तर अत्यन्त थोरै विद्यार्थी मात्र यो सुविधा लिन आउँछन् ।’
कसरी पाइन्छ सुविधा ?
यो सुविधा त्रिविका नियमित विद्यार्थीले मात्र पाउँछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयकी उपप्रशासक सरस्वती गुरुङ भन्छिन्, ‘सुविधा लिनका लागि विद्यार्थीले आफ्नो क्याम्पसमा निवेदन दिनुपर्छ, क्याम्पसले त्रिवि निर्देशनालयमा विद्यार्थीलाई दिइने सहुलियतका लागि अस्पतालमा सिफारिस गरिदिन अनुरोध गर्छ र निर्देशनालयले अस्पतालमा सिफारिस गरिदिने व्यवस्था छ । निर्देशनालयको सिफारिसपछि उपचार गर्ने अस्पतालले सिफारिस स्वीकृत गरेपछि औषधि र खानाबाहेकको स्वास्थ्य उपचारमा ९० प्रतिशत छुट पाउने व्यवस्था छ ।’
उपचारको क्रममा सिफारिसपत्र लिन नसकेका विद्यार्थीले अस्पतालबाट डिस्चार्ज भएको एक महिनाभित्र आवश्यक प्रक्रिया पु¥याएर निवेदन दिएमा सो सुविधा लिन सक्ने ।
‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी स्वास्थ्योपचार कोषसम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१’ मा विद्यार्थीहरू कोषको अनिवार्य सदस्य हुने व्यवस्था रहेको छ । कार्य व्यवस्थापन प्रणालीको दफा ४ मा विश्वविद्यालयको आङ्गिक क्याम्पस वा केन्द्रीय विभाग वा अनुसन्धान केन्द्र वा कुनै संगठन वा निकायका कुनै शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीहरू कोषको अनिवार्यरूपमा सदस्य रहने व्यवस्था गरेको छ ।
हाल यो सुविधा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले मात्रै लिन सक्ने व्यवस्था छ । एमफिल र पीएचडीका विद्यार्थीलाई पनि यो सुविधा दिने विषयमा सहमति भइसकेको भए पनि कार्य प्रारम्भ भएको छैन ।
कुन–कुन समस्यामा उपचार पाइन्छ ?
स्वास्थ्योपचार कोषसम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१ ले सबै खाले रोगको उपचारका लागि कोषबाट प्रत्येक शैक्षिक वर्षमा अधिकतम १ लाख बेहोर्ने व्यवस्था गरेको छ । अस्पतालमा भर्ना भएका बिरामीको लागि जेनेरल वार्डको बेड चार्ज मात्रै कोषले बेहोर्नेछ । तर उपचारका लागि आईसीयूमा राख्न आवश्यक भए अधिकतम एक लाख रकम आईसीयूको खर्च कोषले बेहोर्नेछ ।
क्याम्पसमा भर्ना हुनुअगावै कोही दीर्घ रोगी प्रमणित भइसकेको विद्यार्थीले यो सुविधान लिन पाउँदैनन् ।
स्वास्थ्य उपचार कोषसम्बन्धी कार्य व्यवस्थापन प्रणालीले उपचारका लागि त्रिवि सम्बद्ध मेडिकल कलेज र सो नभएको स्थानमा अन्य विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजका अस्पताल वा सो पनि नभएको स्थानमा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तगर्तका शिक्षण अस्पतालहरू तथा सरकारी अस्पताललाई स्वास्थ्य उपचार गर्न तोक्ने व्यवस्था छ ।
कार्य व्यवस्थापन प्रणालीमा तोकिएका (६० वटा) अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि उपचार हुन नसकेको खण्डमा मेडिकल बोर्डको सिफारिसमा नेपालमा नै अन्य अस्पतालमा वा विदेशमा स्वास्थ्य उपचार गर्न लैजान सकिने व्यवस्था रहेको छ । कार्य व्यवस्थापन प्रणालीको दफा १० मा ‘तर, यस व्यवस्थाले सिधै शिक्षण अस्पतालमा स्वास्थ्योपचार गराउन बाधा पर्नेछैन’ भन्ने उल्लेख गरिएको छ ।
सुत्केरी र गर्भवतीसम्बन्धी कुनै पनि खर्च सामान्य शरीर चेकजाँच (होलबडी चेकअप), अंग प्रत्यारोपण, कस्मेटिक उपचार तथा चस्मा र चस्माको लेन्स खर्च, कानमा लगाउने उपकरणको खर्च भने कोषबाट उपचार खर्च उपलब्ध नहुने सो कार्य व्यवस्था प्रणालीले स्पष्ट गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया