काठमाडौं । हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व आज (सोमबार) देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरेर मनाइँदै छ ।
भगवान श्रीकृष्णको जन्म भएको दिन ज्ञान, भक्ति र कर्मका प्रणेताको रुपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
आजकै दिन ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाअर्चना गरेर कृष्ण जन्माष्टमी पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना भाइरसका कारण मन्दिर खोलिएको छैन ।
मन्दिर परिसरमा भक्तजनहरुको भीड रहेको छ भने मुख्य मन्दिरको वरपर रहेका मूर्तिमा मानिसहरु पूजा गरेर फर्किरहेको देख्न सकिन्छ ।
द्वापर युगमा पिता वासुदेव र माता देवकीका आठौँ पुत्रको रुपमा मामा कंशको जेलमा रहेको भगवान श्रीकृष्णले मध्यरातमा जन्म लिएका थिए । उनी जन्मिएपछि जेलका ढोकाहरु खुल्ला भएको र सुरक्षामा रहेका सुरक्षाकर्मीहरु निन्द्रामा परेको धर्मशास्त्रमा उल्लेख छ ।
वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आजको दिन कंशको अत्याचारबाट मानवलाई भगवान श्रीकृष्णले मुक्त दिलाएको दिनको रुपमा पनि श्रीकृष्णको पूजाअर्चना गरी जन्मोत्सव मनाउने गर्दछन् ।
भगवान श्रीकृष्णको जन्म भए लगत्तै पिता वासुदेवलाई वृन्दावन मित्र नन्दका घरमा लग्न नन्दकी पुत्रीलाई लिएर आउन आकाशवाणी भएको धर्मशास्त्रमा उल्लेख छ ।
त्यसैदिन जन्मिएकी बालिकालाई कंशको राज्यमा लिएर आएपछि मात्रै निदाएका सुरक्षाकर्मीहरु ब्यूँझिएको र कंशले बालिकालाई मार्न खोज्दा बालिका आकाशमा गएर आजकै दिन जन्मिएका बालकले तेरो हत्या गर्नेछ भन्ने आकाशवाणी गरेपछि कंशले उक्त दिन जन्मिएका सबै बालबालिकालाई मार्न लगाएको प्रशंग धर्मशास्त्रमा पाइन्छ ।
श्रीकृष्णका मनमोहन, राधाकृष्ण, केशव, गोपाल, श्याम, घनश्याम, मुकुन्द, गोविन्द, मुरारी लगायत धेरै नाम छन् । आजको दिन शुद्ध भएर भगवान श्रस्कृष्णको पूजा गरेमा सन्तान, दीर्घायु र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवजातीलाई मुक्ति दिलाउन भगवान विष्णुले श्रीकृष्णको रुपमा पृथ्वीमा जन्म लिएको दिनको रुपमा आज धुमधामसँग श्रीकृष्ण जन्माष्टमी पर्व मनाइने गरिन्छ । यसैबीच सरकारले सोही पर्वको अवसर पारेर सार्वजनिक विदा समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया