काठमाडौं, २७ चैत– दुई सशक्त दाबेदार पुस्कर कार्की र रमेश खरेललाई पछि पार्दै डिआईजी सर्वेन्द्र खनाल नेपाल प्रहरीको आईजीपी बन्न सफल भएका छन् । उनलाई मन्त्रीपरिषद्को मंगलबार साँझ बसेको बैठकले आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ । आईजीपी प्रकाश अर्यालले बुधबारदेखि अवकास पाउने भएसँगै सरकारले कार्यसम्पाद मूल्यांकनको आधारमा पहिलो बरियतामा रहेका खनाललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।खनालको प्रहरी सेवायात्राखनाल २०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका थिए । सोहि ब्याजका हुन्, रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की लगायतक पनि । तर, कार्यक्षमता,कार्यसम्पादन मुल्याङ्कन र सिनियरिटीको आधारमा एक नम्वरमा रहेका खनाललाई सरकारले आईजीपी बनाएको हो।प्रहरीको व्यवसायिक छवि एवं संगठनको प्रतिष्ठा सँधै उचो राख्न सफल खनालका दर्जनौं कामका श्रृंखलाहरु छन्, जसले उनलाई सफलताको उचाइतर्फ पुर्यायो ।नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो। मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सरकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो। जनआन्दोलनमा काठमाडौंको प्रमुख हुँदा उनले निभाएको भूमिकाकै कारण पनि उनी प्रहरीको नेतृत्व सम्हाल्न सक्छन भन्ने प्रमाणित गरेको छ।खनालको नेतृत्वमा मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर भएको थियो ।खनाल महानगरीय अपराध महाशाखामा आएपछि घैंटेको इन्काउन्टर भएको थियो । घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएका थिए उनलाई । खनाल महाशाखामा हुँदा लागु औषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर पक्राउ गरेका थिए । त्यस्तै म्याच फिसिक्स प्रकरणमा खेलाडीलाई पक्राउ समेत उनैले गरेका थिए । त्यतिबेला तत्कालिन फुटबल कप्तान सागर थापासहितका खेलाडीलाई उनकै अग्रसरतामा पक्राउ गरेर कारबाही गरिएको थियो ।म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो । २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जित्यो । खेलको सौदाबाजी गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा उभ्यायो । महाभुकम्पको समयमा नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव रामआधार साह पनि खनाल जालोमा परे ।लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हत्कडी लगाए । खनाल महाशाखामा आएको केही समयमा संचार उद्यमी जमिम साहको हत्याका मुख्य आरोपीलाई पक्राउ परे । जमिम हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो । त्यस्तै अर्को निर्मम हत्याकाण्डको पर्दाफास पनि भयो ।ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई खनालकै टोलीले पक्राउ गरेर देखायो । अवैध धन्दा गर्ने कन्सलटेन्सीहरु उनको नजरबाट बच्न सकेनन् ।अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन भन्दै उनले कारवाही अगाडि बढाए । छापा हान्न थालेपछि अतालिएका दलालहरु कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे ।विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णु बहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे । अनेकन प्रलोभन देखाएर यी दुई दाजुभाईले ठगीको सन्जाल नै चलाएका थिए । खनालले संबेदनशिल एवं चुनौतिपूर्ण जिल्लाहरुको सफलतापुर्वक कमाण्ड गरेका थिए । जनकपुर, पर्सा लगायतका तराइमा बस्दा खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ने ज्यानसंग खेल्नु पर्यो ।उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । कुख्यात भारतीय अन्डर वर्ल्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछी त उनले भारतको समेत पुरस्कार पाए । तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधिर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, बीरगन्जमा उत्पाद मच्चाउने गुण्डानाइके अग्नी भनिने सुनिल जैसवाललाई पनि खनालले कारवाहीको दायरामा ल्याएका थिए ।पछिल्लो समयमा ट्राफिक प्रहरी महाशाखामा कार्यरत खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपांग्रे सवारी निषेध गराएर ब्यबस्थित बनाएका थिए । सडकका खाल्डाखुल्टी पुर्ने अभियान,चक्रपथ सुधार र सरसफाइ अभियान तथा राजधानीका १० स्थानमा लाइन बसेर सवारी चढ्ने नियमको सुरुवात गरे ।सार्वजनिक माइक्रो चालक र सहचालकलाई पोशाक लगाउने नियम बसालेका खनालकै पहलमा १० बर्ष देखी बिग्रेका ट्राफिक बत्तीको मर्मत गरी बल्न थालेका छन् । राष्ट्र र जनताको पक्षमा काम गर्ने कुशल र बहादुर योद्धा खनाल जस्ता प्रहरी अधिकारी विरलै जन्मन्छन् । जसको कामप्रति आशा र भरोषा गर्न सकिन्छ ।उनी नेपाल प्रहरीको नीति निर्माण तह तथा व्यवस्थापकीय कार्यमा पोख्त पनि पोख्त मानिन्छन् ।प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानहरुमा उत्कृष्ट काम गरी लोकप्रियता कमाइसकेका खनालले अब प्रहरीको नेृत्व सम्हाल्ने मौका पाएका छन् । उनको नेतृत्वमा प्रहरी संगठन कस्तो बन्नेछ त्यो भने हेर्न बाँकी नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया