५७ दिनमा देउवा सरकार : खुट्टी देख्दै चाल पाइयो

लोकपथ
161
Shares

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकै बाटोमा हिँड्न थालेको आरोप लाग्न थालेको छ ।

देउवाको कार्यशैली सुस्त त छँदै छ, पार्टीलाई समेत माइनस गरेर सरकार चलाउन थालेको आरोप लागेको छ । विगतमा ओलीको यस्तै कार्यशैलीका कारण उनी सत्ताबाट ओर्लिनु मात्रै परेन पार्टी समेत विभाजन भएको छ ।

अहिले कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा राष्ट्रिय मुद्दामा आलोचित बनेका छन् । ओली आफ्नो उग्र राष्ट्रवादी छविका कारण विवादित थिए भने देउवा आवश्यकताभन्दा बढी लचक भएको भन्दै आलोचित भएका छन् ।

गत साउन १५ मा दार्चुलाका धामी तुइनबाट महाकाली नदी तरेर पारी जान लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा खुस्काइदिएपछि महाकालीमा खसेर बेपत्ता भएका थिए । उनको अहिलेसम्म अत्तोपत्तो छैन ।

सरकारले भारत र भारतीय प्रधानमन्त्रीको विरोध नगर्न जुन भाषाशैली प्रयोग गरेर वक्तव्य सार्वजनिक गर्न लगायो त्यसले यो सरकारको छविमा असर गरेको छ ।

त्यसैगरी अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) सँगको सम्झौताको विरोधमा दैनिकजस्तो प्रदर्शन भइरहँदा पनि त्यसबारे कांग्रेसको आधिकारिक धारणा के हो भन्ने विषयमा जनतालाई प्रस्ट्याउन सकेको छैन ।

देउवाले एमसीसी संसद्बाट पास हुनुपर्ने मात्रै भन्दै आएका छन् । एमसीसी नेपाल भित्र्याउँदा हुने फाइदा र बेफाइदाका विषयमा कांग्रेस मौन छ । सिंगो कांग्रेसबाट यसबारे धारणा आउनुपर्ने हो । देउवाले यसमा चासो दिएका छैनन् ।

कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल सरकारको राष्ट्रिय मुद्दाबारे पारदर्शी ढंगले जवाफ दिने विषयमा त्रुटि देखिएको बताउँछन् । ‘तर कांग्रेस १४औं महाधिवेशनको प्रक्रियामा अघि बढेको र महाधिवेशन केन्द्रित विषयमा लागेकाले अरु विषय छलफल हुन नसकेको हुनुपर्छ’, पौडेलले लोकपथसँग भने ।

गत असार २९ मा प्रधानमन्त्री बनेका देउवाले सरकारले गर्ने विभिन्न निर्णय र नियुक्तिमा पनि पार्टीका नेताहरूसँग छलफल गर्नेगरेका छैनन् । देउवाको त्यस्तो रवैयाप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकपथसँग भने, ‘जयसिंह प्रकरणबारे सरकारले छानबिन समिति बनाएको र त्यसले प्रतिवेदन समेत बुझाइसकेको अवस्थामा कूटनीतिकजस्तो विषयमा प्रतिवेदनकै आधारमा निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।

जुनसुकै सरकारले पनि त्यही प्रक्रिया अपनाउने हो । यथार्थको धरातलमा आफू बलियो हुनेगरी एक–एक कुरा बुझेर कदम चाल्नु पर्छ ।’

कुरा नबुझी अरुले सरकार र कांग्रेसप्रति आरोप लगाउनु सही नभएको महत बताउँछन् । ‘एमसीसीबारे कांग्रेसमा कुनै द्विविधा नभएको र भ्रम निवारण गर्न सरकारले अमेरिकालाई पत्र पठाइसकेको छ’ महतले भने ।

५७ दिनमा सरकारले अझै पूर्णता पाएन

दिनका हिसाबले देउवा प्रधानमन्त्री भएको आज ५७ दिन पुगेको छ । यतिका दिनसम्म पनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

विगतमा ओली चाँडो–चाँडो मन्त्रिपरिषद् विस्तार गरेको भन्दै आलोचित थिए । देउवाले चाहिँ सरकारलाई पूर्णता दिन नसकेको र सरकारका काम निकै सुस्त भएको तथा शक्तिराष्ट्रका सामु आवश्यकताभन्दा अधिक लचिलो भएको आरोप खेप्नुपरेको छ ।

ओलीको सिको गर्दै अध्यादेश

प्रधानमन्त्री बनेको ५७ दिनभित्र देउवाले ओलीको सिको गर्दै सत्ता लम्ब्याउन भदौ १ मा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याए । अध्यादेशका कारण एमाले र जनता समाजवादी पार्टीलाई फुट्न सजिलो भयो । एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ । जनता समाजवादी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । त्यसको नेतृत्व महन्थ ठाकुरले गरेका छन् ।

ओलीले पनि २०७७ वैशाख पहिलो साता सत्ता टिकाउन त्यस्तै अध्यादेश ल्याएका थिए । तर सर्वत्र विरोधपछि त्यसलाई फिर्ता गरिएको थियो ।

पार्टी बैठक निजी निवासमा

देउवाले प्रधानमन्त्री भएर बालुवाटार छिरेपछि पार्टीको बैठक सरकारी निवासमा राखे । त्यसको आलोचना भएपछि आफ्नो निजी निवास बुढानिलकण्ठमा राख्न थालेका छन् । कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएको ५५ दिन बितिसक्दा एक पटक पनि पार्टी कार्यालय सानेपा पुगेका छैनन् ।

विगतमा ओलीले सरकारी खर्चमा पार्टीका सबै बैठक बालुवाटारमै राख्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?