साढे ४ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर (तस्बिरहरु हेर्नुहोस्)

लोकपथ
98
Shares

काठमाडौं । कोरोना महामारीको कारण बन्द रहेको पशुपतिनाथको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराउन थालिएको छ ।

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ । विशेष पूजा भने आजदेखि खुला नगरिएको पशुपति विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

आज बिहानदेखि मन्दिर खोल्न बुधवार नै सुरक्षा समितिको बैठक बसी तयारी गरिएको उनले सुनाए । साढे चार महिनापछि खोलिएको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ । साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीवार कोषले क्षमापूजा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?