भाद्र शुक्ल तृतीयामा हिन्दु नारीहरूले तीज मनाउँछन् । त्यसको भोलिपल्ट चतुर्थीको दिनमा गणेश चतुर्थी भनेर मनाइन्छ । प्रायः प्रातकालमा चर्तुथी भएर मध्यान्हमा पञ्चमी तिथि हुने गर्थ्यो । यस पटक अलग–अलग दिनमा परेको छ । आज ऋषि पञ्चमीको दिन महिलाहरूले आफ्नो वैदिक ज्ञानका प्रवर्द्धक सात ऋषिहरूको पूजा आराधना गर्ने गर्छन् साथै वशिष्ठको धर्मपत्नी अरुन्धतीको पनि पूजा आराधना हुने गर्छ । नेपाली समाजमा अरुन्धतीलाई रम्धता भनेर समेत पुकारिने गरेको पाइन्छ ।
ऋषि पञ्चमीको दिन पूजा गरिने सात ऋषिहरू भौतिक दृष्टिले आकाशमा देखिने सप्तऋषिको तारा समूह नै हो । ती तारा समूह हाम्रा एक–एक ऋषिसँग सम्बन्धित रहेका छन् । यी सात ऋषिहरूमा वशिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भारद्वाज हुन् । यी सात ऋषिहरू आकाशमा एउटा संरचनामा बसेका हुन्छन् । ती ऋषिहरूको हामीसँग गोत्र अनुसारको सम्बन्ध रहेको हुन्छ । हामीलाई ज्ञानको धारा परम्परागत रूपमा प्रवर्द्धन गर्ने तिनै ऋषिहरू हुन् भन्ने मान्यता छ ।
पुरुषहरूले यही ऋषिहरूको पूजा ऋषि तर्पनमा गर्ने चलन र अलग्गै विधि रहेको छ । पुरुषहरूले साउन महिनाको शुक्ल पक्षको पूर्णिमामा पूजा गर्छन् । त्यसमा पुरुषले यज्ञपोवित धारण गरेर विशेष जिम्मेवारी र विशेष दायित्व बोकेर पूजा गर्ने गर्छन् । भदौ महिनाको शुक्ल पक्षको पञ्चमीमा अर्थात् त्यसको लगभग २० पछि नारीहरूले सोही सप्तऋषिहरूको पूजा गर्ने गर्छन् ।
नारीहरूलाई प्रकृतिले दिएको एउटा विशेष दायित्व हरेक महिना रजस्वला हुनुपर्ने भन्नेछ । त्यो दायित्वले गर्दा शारीरिक प्रतिक्रियाहरुमा शरीरका विकारहरू बाहिर निस्कने गर्छन् । यस्तो अवस्थामा शरीरलाई अपवित्र भएको मानिन्छ । जस्तो पुरुषहरू पनि शौच त्याग गरिरहेको बेला अपवित्र हुन्छन् । शरीरबाट मल निष्कासन भइरहेको बेला अपवित्र हुन्छन् । रगत प्रवाहित भइरहेको बेला पनि अपवित्र भइरहेको हुन्छन् । केश मुण्डन गर्दा पनि अपवित्र भइरहेको हुन्छन् । नङ काटेपछि अपवित्र हुन्छन् । त्यस्तो अवस्थामा स्नान नगरी चोखो भइँदैन । त्यो समयमा भएको अपवित्रतालाई पवित्र हुने केही मर्यादाहरू तोकिएका छन् । त्यस्तै गरेर महिलाहरू मासिक रजस्वला हुँदा ३ देखि ४ दिनसम्म मर्यादित ढङ्गले बस्नुपर्ने हो । एउटा केही हदसम्म अपवित्रताको कारणले यो भनिएको हो । त्यसको अहिलेको भौतिक दृष्टिकोणबाट विचार गर्दा सङ्क्रमण मुक्त हुनका लागि नै हो । बाहिरी पदार्थहरूबाट आफूलाई सङ्क्रमण नहोस् अर्थात् अरूको सङ्क्रमण आफूमा नजाओस् र आफ्नो शरीरबाट अरूकोमा कुनै किसिमको सङ्क्रमण नजाओस् भनेर अलग बस्ने वा चोखो बस्ने भन्ने नै हो ।
यो मान्यतालाई विकारको रूपमा लिएर अहिले रजस्वला भएको समयमा महिलामाथि दमन र शोषण पनि हुन थालेको छ । धेरै नै छिःछिः दुरदुर गर्ने गरेको कारणले कतिपय महिलाले देहत्याग गरेका, नराम्रा दुर्घटनाहरू भएर चिन्ताजनक अवस्थामा पुगेका समेत छन् । त्यो कार्यलाई लिएर परम्परागत संस्कृतिको मूल मर्मलाई नै प्रहार हुनेगरी महिला अधिकारकर्मीहरू विरोधमा उत्रिने गरेका छन् ।
रजस्वला भएको अवस्थामा पवित्रतापूर्वक अलग्गै बस्नुपर्छ भन्ने मान्यता हो । तर कसरी बस्नुपर्छ, कहाँ बस्नुपर्छ भन्ने कुरा धर्म संस्कृतिले सिकाएको छैन । यसका राम्रा र नराम्रा पक्ष बुझेर कति हदसम्म हामी पवित्रतापूर्वक अलग्गै बस्नुपर्ने हो र कति हदसम्म हामी पूजाआजा, भान्छामा जान नहुने हो । आफ्ना मान्यजन, गुरुजनहरूसँग संसर्गमा नरहनु पर्ने हो । कति समयसम्म अरू घर धन्दाका कामहरूबाट अलग हुनुपर्ने हो । आराम गर्नुपर्ने हो । यसका राम्रा पक्षहरूलाई सन्तुलित रूपमा विचार गरिनुपर्छ ।
विशेषगरी नेपाली समाजमा रजस्वला भएको बेला भएको अपवित्रता, कतै छोइछाइ भएको छ भने त्यसको दोष लाग्छ । त्यो दोषबाट मुक्ति पाउनका लागि हामीले आफ्ना सबै पूर्वज ऋषिमुनीहरुसँग क्षमा माग्ने दिन आज हो । उहाँहरूले राखेको मर्यादामा म कति रहन सकेँ, कति रहन सकिनँ भनेर एउटा क्षमा प्रार्थना गर्ने, तर्पन गर्ने, सम्झना गर्ने, भुलचुक भएका गल्तीमा क्षमा माग्ने, माफ माग्ने यो एउटा समय हो ।
यो समयमा यसरी व्रत बस्दा हामीले कतिपय जानेर वा नजानेर भएका गल्तीहरूमा पनि हाम्रा पूर्वज ऋषिमुनिहरुले हामीलाई माफ गर्छन्, हामीलाई क्षमा गर्छन् । आजको दिन वर्षभरि गल्ती गर्ने मेरो नियत थिएन तर भुलचुक भयो भनेर अभिव्यक्ति प्रकट गर्दै क्षमा माग्ने दिन हो ।
यो समयमा पनि महिलाहरू पवित्रतापूर्वक बस्नु पर्छ । बिहान विशेषगरी नारीहरूले वर्ष दिनसम्म गर्नुपर्ने आचरणका कामहरूलाई एकैचोटि गर्छन् । एक दिन मात्र अपामार्ग टोक्ने, एक दिन मात्र भए पनि माटो दलेर नुहाउने प्रचलन छ ।
यसलाई संस्कृतिको रूपान्तरित अवस्था मानिन्छ । यसको मूल स्वरूप भनेको हामीले हरेक दिन प्राकृतिक वस्तुहरूबाट जस्तो माटो दलेर शरीर स्नान गरेर शरीरको शुद्धता गर्ने भनेको प्राकृतिक उपचारको विधि हो । अहिले कृत्रिम पदार्थहरू मिसाइएको दन्तमन्जनहरु आएको कारण दाँतलाई उत्तिकै बिगारिरहेको छ । जसको कारण दन्त अस्पतालहरू प्रशस्तै खुलेका छन् । प्राचीन दृष्टिकोणले हेर्दा जडीबुटी, वन औषधिहरूको दतिउन लगाउने चलन रहेको थियो । यो दतिउन (दाँत माझ्ने प्रक्रिया) हरेक दिन गर्नुपर्ने हुन्छ भन्ने शास्त्रीय मान्यता थियो ।
हरेक दिन गरेनौँ अब एक दिन त गर भनेर परम्परालाई थाम्ने काम बीचमा चलिआयो । त्यसैको निरन्तरता आजसम्म भइरहेको छ ।
हामीलाई यस विषयमा बोल्नुपर्दा सङ्कोच के भइरहेको छ भने यो बेठीक हो, आवश्यक छैन भनौँ भने पूरै मर्यादा समाप्त हुन्छ । यसको पहिचान पनि हराउँछ । यो ठीक हो भनौँ भने एक दिन मात्र माटो दलेर, दतिउन गरेर शास्त्रीय मर्यादाको संरक्षण हुने पनि छैन । जस्तो अहिले संयुक्त राष्ट्र सङ्घले विश्व हात धुने दिवस भनेर मनाउँछ त्यो एक दिन हात धोएर दिवस मनाउनुको सार्थकता हुँदैन । एक दिन चुरोट नपिएर ध्रुमपान रहित दिवस मनाएर पनि हुँदैन वा एक दिन योग दिवसमा योग गरेर पनि हुँदैन ।
यसले के सम्झाउँछ भने यो मेरो दिनदिनै गर्नुपर्ने कर्तव्य हो भनेर । त्यस कारण ऋषि पञ्चमीले पनि के संझउछ भने नदी तलाउमा गएर माटोले नुहाउने, दन्त धावन गर्ने, पञ्चगव्यको प्रयोग गरेर आफूलाई प्राकृतिक जीवन जिउनका लागि हरेक दिन गर्नुपर्ने कर्तव्य हो । यो कर्तव्यलाई विशेष गरेर एक दिन स्मरण गराइएको पनि हो ।
ऋषि पञ्चमीको महत्त्व पूर्वजको सम्झना र प्राकृतिक चिकित्सा, स्वस्थ जीवन शैली बिताउन सिकाउने पर्व पनि हो । यसलाई कुनै जाति, धर्म, समुदायको पर्व मात्र नभनेर सबै मानव जाती र समुदायका लागि मर्यादामा राख्ने पर्वको हो भनेर मनाउनु पर्छ ।
(डा. गुरु प्रसाद सुवेदीसँग गरिएको कुराकानीको आधारमा । )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया