७ स्थानमा मात्रै प्रदर्शन गर्न पाउने सरकारको निर्णयमा नेविसंघको आपत्ति

काठमाडौं, ४ बैशाख– नेपाल विद्यार्थी संगठनले राजधानीका जुनसुकै स्थानमा पनि विरोध प्रदर्शन गर्न पाउनु पर्ने माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई मंगलबार ज्ञापनपत्र बुझाएको छ ।नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले सिडिओ केदारनाथ शर्मालाई भेटेर काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाउने भनि बैशाख २ गते गरिएको निर्णय तत्काल फिर्ता लिन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।ज्ञापनपत्रमा कम्युनिष्ट सरकारले संविधानमै व्यवस्था गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रतासम्बधी मौलिक हकविरुद्ध निषेधाज्ञा जारी गरेको आरोप लगाइएको छ ।नेविसंघले प्रशासनले उक्त निर्णय फिर्ता नलिए बैशाख १६ गतेदेखि नै सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।सो अवसरमा नेविसंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीसहित नेबिसघं केन्द्रीय सदस्य सुशील भट्टलगायतको समेत सहभागिता रहेको नेबिसघ नेता निरन्जन थापाले जानकारी दिए ।केन्द्रीय सदस्य भट्टले अधिकारीले बाचन गरेको ज्ञापनपत्रको विषयबस्तुमाथि प्रकाश पारेका थिए ।विरोध प्रदर्शनका नाममा काठमाडौंमा जथाभावी नारा, जुलुस, धर्ना र सभाजस्ता कार्यक्रम हुन थालेको भन्दै जिप्रका काठमाडौंले प्रदर्शन गर्ने ७ तोकेको थियो ।प्रशासनले खुलामञ्च, तीनकुनेको खाली रहेको चौर, भगवान पाउको भुइखेल चौर, पेप्सीकोलाको खेलमैदान, सानोगौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउन्ड र सिफल चौरलाई विरोध प्रदर्शनस्थल तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?