खेलकुदको राजनीतिले लिनु पर्ने बाटो

नेपाली खेलकुदको क्षेत्रका लागि २०७५को बैशाख महिना राम्रो रहयो । क्रिकेट र फुटबलको क्षेत्रमा देखिएका विवाद एकहद सम्म समाधान बैशाख महिनामा भयो । हालै मात्रै बैशाख २२ गते अखिल नेपाल फुटबल संघ(एन्फा)को निर्वाचन सम्पन्न भइ ४ वर्षका लागि नयाँ कार्यसमिति पाएको छ ।

कर्मा छिरिङ शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । विगत ५ वर्षदेखि खेलमा खेडालीको मिलोमतोमा जीत हार तय हुने विषय म्याच फिक्सिङको विकृति हटाउने अभियानमा लागेका शेर्पाले एन्फामा प्रभुत्व कायम गरी बसेका गणेश थापाको दुई दशक लामो युगलाई बिराम लगाउन सफलता पाएका हुन् ।

पूर्व एन्फा अध्यक्ष थापाले फुटबल खेलको विकासको नाममा धेरै विकृति विसंगति निमत्याएको आरोप लाग्दै आएको थियो । शनिबार सम्पन्न १६ औं साधारणसभामा एकलौटी रूपमा मणि कुँवरलाई ६३–१२ मतले हराउँदै  एन्फा अध्यक्ष चुनिएका शेर्पा नेतृत्वमाथि ठूलो चुनौती आएको छ । 

पूर्व अध्यक्ष थापाका नातेदार वरिष्ठ उपाध्यक्ष कुँवरले निर्वाचनले चुनाव हुन एकदिन अघि भाग नलिने जनाएका थिए । तर उनको त्यो दाउ काम लागेन चुनाव भइ छाडयो  र शेर्पा जिते पनि । कुँवरको दाउ भन्दा पनि पूर्व अध्यक्ष थापाले एन्फामा आफ्नो अन्तिम लडाइ सम्पन्न चुनावमा जित्न सकेनन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले एन्फाका पूर्व अध्यक्ष थापालाई भ्रष्टाचार गरेको आरोपमा १० वर्षका लागि प्रतिबन्ध लगाएको थियो । तर एन्फामा आफ्नो पहुँच बलियो पार्न आफ्ना निकट नरेन्द्रलाल श्रेष्ठलाई २०७३ कार्तिकमा चुनाव जिताएर अध्यक्ष बनाउनसम्मको कार्य थापाले पूरा गरे । तर श्रेष्ठसँगको सम्बन्ध राम्रो हुन सकेन र यो १६औं साधारण सभा सम्पन्न हुन पुग्यो । शेर्पा जित्न सफल भए ।
शेर्पा त्यसै जितेका होइनन् । उनको शुद्धिकरण अभियान जितेको हो । फुटबललाई म्याच फिक्सिंगबाट टाढा राख्ने अभियानले जितेको हो । यसअघि थापालाई सघाउनेहरूले नै शेर्पालाई जिताएका हुन् ।

शेर्पासँगको टिममा शुरूदेखि नै शेर्पालाई शुद्धिकरण अभियानमासाथ पंकजविक्रम नेम्वाङसहित पूर्वप्रशिक्षक कृष्ण थापा, राष्ट्रिय टिमका पूर्वकप्तान उपेन्द्रमान सिंह र वीरबहादुर खड्का उपाध्यक्ष निर्वाचत भए । यसैगरी अन्य सदस्य र पदाधिकारीहरूको जित भएको हो । यो सबै म्याच फिक्सिंगमा नेपाली खेलाडीहरू मुछिएपछि अघि बढेको शुद्धिकरणको अभियानले पारेको प्रभावबाट भएको हो । 
चार वर्षे कार्यकालका लागि सम्पन्न भएको यो निर्वाचन तीन पटक स्थगित र अदालती प्रक्रिया पूरा भइ भएको हो । निर्वाचन हुन नदिन गत बुधबार कन्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्दसहितले काठमाडौं जिल्ला अदालतमा एन्फा चुनाव विरूद्ध  निषेधाज्ञाको मागसहित दायर गरिएको मुद्दामा बिहीबार अदालतले अन्तरिम आदेश दिएन । अदालतले अन्तरिम आदेश नदिए पछि पूर्व अध्यक्ष थापाले खेलेको राजनीतिक चाल सफल हुन सकेन् ।

नवनिर्वाचित अध्यक्ष  शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल आवश्यक कानून बनाउन आफूले पहल गर्ने बताए । उनले भने “ म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ।”

यसगरी बैशाखको पहिलो साता नेपाल क्रिकेटको विवाद पनि अन्त्य हुने देखिएको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट संघ परिषद्(आइसीसी)ले गठन गरेको सल्लाहकार समितिले बनाएको विधान नेपाल क्रिकेट संघ (क्यान)कोे विशेष साधारण सभाले हुबहु पारित गरेको छ । यसबाट  नेपाली क्रिकेटको विवाद पनि एकहद सम्म अन्त्य भएको छ ।

नेपाली क्रिकेटको आन्तरिक विवादका कारण आइसीसीले क्यानलाई निलम्बन गरेको थियो । विवाद समाधान भएपछि आइसीसीले निलम्बन फुकुवा गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
आम नेपालीहरूलाई यी दुई खेलले बाँध्ने गरेको छ । यो खेल अब खेल मात्रै होइन रोजगारीको सिर्जना समेत गर्ने गरेको छ । देशको मान सम्मान प्रतिष्ठामा समेत खेलकुदले बृद्धि गर्ने गरेको छ । यसलाई अपेक्षा गर्न सकिदैन् ।

तर यसमा देखिएको गलत राजनीतिले खेलकुदको विकास हुन सक्दैन् । यसका लागि खेलकुदमा आफ्ना मान्छेको छनौट गर्नु भन्दा पनि राम्रा मान्छेको छनौट गर्ने राजनीतिलाई बढावा दिनुपर्छ । राम्रा खेलाडीहरूको  छनौटका लागि त्यस अनुरूपको पारदर्शी मापदण्ड निर्माण गर्नुपर्छ । मापदण्ड स्पस्ट र पारदर्शी भए पक्षपोषणको आरोप मात्र लाग्ने होइन खेल टोलीको प्रदर्शन मैदानमा उत्कृष्ट हुने छ । उत्कृष्ट प्रदर्शनबाट टोली र देशको नाम हुनेछ ।

खेलाडीहरूको छनौटका लागि तल्लो तहका खेलहरू बढी खेलाउनु पर्ने हुन्छ । खेलको प्रदर्शनबाट उत्कृष्ट खेलाडीहरूको छनौट हुँदा बन्ने राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम स्थापित गराउनेछ ।
तर नेतृत्वलाई चुनौती भने पुरानैबाट हुन सक्छ । पुरानो प्रवृतिले नयाँ नेतृत्वलाई अगाडि बढनबाट रोक्ने छ । यसका लागि इच्छा शक्ति हुनुआवश्यक छ । पुरानाहरूलाई नयाँ नेतृत्वले व्यवहारबाट परिवर्तन गर्न सक्ने बाटोको खोजी गर्नु पर्छ ।

त्यो नयाँ बाटो भनेको पुरानाले स्थापित गरेका गलत मान्यता र प्रवृतिलाई समाप्त पार्नुपर्छ । नयाँ बाटो त्यसै बन्दै एन्फाका नयाँ निर्वाचित अध्यक्षले  चालेको म्याच फिक्सिंग विरूद्धको अभियानमा सबैले साथ दिनुपर्ने हुन्छ । यसमा राजनीतिक दल र सरकारी निकायले अडको हटाउनु पर्छ । थप्ने प्रवृतिको त्याग गर्नुपर्छ । नयाँ वर्षमा खेलकुदको क्षेत्रका देखिएको नयाँ विरूवा नयाँ उत्साहका साथ झांगिदै जाने अाशा अाम लोकहरूको रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?