राजेन्द्र राई : आरआरको स्ववियु सभापतिदेखि मुख्यमन्त्रीसम्म

लोकपथ
252
Shares

प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता राई कांग्रेससहितको समर्थनमा आज मुख्यमन्त्री बनेका हुन् ।

नेकपा एमालेमा आन्तरिक कलह चर्किएपछि तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई राजीनामा दिन लगाएर गत भदौ १० मा एमालेले भीम आचार्यलाई मुख्यमन्त्री बनाएको थियो । आचार्य एमाले औपचारिक रूपमा विभाजन भएको भोलिपल्ट मुख्यमन्त्री बनेका थिए ।

एमालेमा आन्तरिक कलह चर्किँदै जाँदा सुरुमा माधव नेपालको पक्षमा लागेका आचार्य अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली कित्तामा उभिएका थिए । त्यसैको पुरस्कार स्वरूप उनी ६८ दिन मुख्यमन्त्रीमा रहे ।

उता राई भने आफ्नो अडानमा कायमै रहे र उनले एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बन्दा माधव नेपाललाई साथ दिए ।

आचार्यले सोमबार प्रदेशसभा बैठकमा राजीनामा घोषण गरेका थिए । एमाले विभाजित भएको अवस्थामा आफ्नो पक्षमा बहुमत पुग्ने सम्भावना नदेखिएपछि सोमबार विश्वासको मत लिनुअघि राजीनामा घोषणा गरेका हुन् ।

को हुन् राजेन्द्र राई ?

भीम आचार्यले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि राइलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

प्रदेश १ का ९२ सांसद छन् । एमाले विभाजन हुनुअघि उसका ५१ जना सांसद थिए । तर १० जना नेकपा एकीकृत समाजवादीतर्फ लागेपछि अहिले एमालेका ४१ सांसद छन् ।

सरकार बनाउन ४७ सांसद चाहिनेमा त्यो संख्या एमालेसँग नपुगेपछि आचार्य पछि हट्न बाध्य भएका हुन् । कांग्रेससहितको गठबन्धनसँग ५० सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस) का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ छन् । एक सिट भएको राप्रपाले समर्थन गरेको छैन ।

मुख्यमन्त्री बनेका राई नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता पनि हुन् । एमालेको भातृ संगठन अनेरास्ववियुको अध्यक्ष समेत बनिसकेका राई विद्यार्थी राजनीतिबाट उदाएका हुन् । उनले २०४१ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए । भोजपुरको षडानन्द गाउँपालिकामा २०२७ असार १५ मा जन्मिएका राई एमाले फुट्नुअघि एमालेको केन्द्रीय सदस्य रहेका थिए ।

२०७४ को प्रदेशसभा निर्वाचनमा उनी भोजपुर क्षेत्र नम्बर १ को ‘क’ बाट एमालेको तर्फबाट १९ हजार दुई सय ९७ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी २०५६ देखि २०५९ र २०५९ देखि २०६१ सालसम्म अनेरास्ववियुको दुई कार्यकाल अध्यक्ष भएका थिए । २०४९ सालमा राई काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापति बनेका थिए ।

एमालेमा भएको १० बुँदे सहमतिसँगै भीम आचार्य एमालेमा बसे भने राजेन्द्र राईले एकीकृत समाजवादी रोजे ।

एमालेले भने सबैतिर गुमायो

२०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि चारवटा प्रदेश सरकारको नेतृत्व गरेको एमाले सोमबारबाट भने सबै प्रदेशमा बढारिएको छ ।

२०७४ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमाले केन्द्रसँगै प्रदेशका सबै सरकार गुमाउन पुगेको छ । २०७४ को निर्वाचनपछि एमालेले गण्डकी, लुम्बिनी, बागमती र प्रदेश १ को सरकारको नेतृत्व गरेको थियो ।

केन्द्र सरकारदेखि प्रदेश सरकारबाट समेत बाहिरिएको एमाले अब सबैतिर प्रतिपक्षकै भूमिकामा सीमित भएको छ । गत फागुन २३ मा एमाले र माओवादी मिलेर बनेको नेकपालाई सर्वाेच्च अदालतले पूर्ववत् अवस्थामा फर्काइदिएपछि र एमाले विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि केन्द्रदेखि प्रदेशमा ठूलो दलका रूपमा रहे पनि एमाले सत्ताबाट भने सबैतिर बाहिरिन बाध्य भएको हो । गत असार २९ मा एमाले केन्द्र सरकारबाट बाहिरिएको थियो ।

त्यसअघि गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार जेठ २७ मा ढलेको थियो । अहिले गण्डकीमा कांग्रेस नेतृत्वमा ५ दलीय गठबन्धनको सरकार छ ।

त्यसैगरी गत साउन २८ मा एमाले नेतृत्वको शंकर पोखरेलको लुम्बिनी प्रदेश सरकार ढलेको थियो । पोखरेल नेतृत्वको लुम्बिनी सरकार ढलेपछि त्यहाँ पनि कांग्रेससहितको ५ दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता कुलबहादुर केसी मुख्यमन्त्री बनेका छन् ।

यस्तै बागमती प्रदेशमा गत भदौ १० मा डोरमणि पौडेलललाई राजीनामा दिन लगाएर मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको सरकार पनि यही कात्तिक १० गते ढलेर नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् । शाक्य नेतृत्वको सरकार ढलेको ५ दिनपछि प्रदेश १ मा पनि एमाले सरकारबाट बाहिरिन बाध्य भएको छ ।

तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर प्रदेश १ मा भदौ १० गते एमालेले भीम आचार्यलाई मुख्यमन्त्री बनाएको थियो । आचार्य कात्तिक १५ मा राजीनामा दिएर सरकारबाट बाहिरिएपछि यसमा पनि कांग्रेससहितको गठबन्धनबाट राजेन्द्र राई मुख्यमन्त्री बनेका हुन् । योसँगै एमालेले केन्द्रसहित आफू नेतृत्वको प्रदेश सरकार पनि गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?