के सरकारले ६ महिना लामो नाकाबन्दी भुलेकै हो ?

काठमाडाैं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यति बेला दुई दिने राजकीय भ्रमणका लागि नेपालमा छन् । शुक्रवार बिहान निर्धारित समयभन्दा केही ढिला गरी जनकपुर विमानस्थल आइपुगेको उनको टोलीलाई जनकपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, मन्त्री, जनकपुरका मेयर लगायतले भव्य स्वागत गरे । भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिर परिसरमा स्वागत गरे । 

प्रधानमन्त्री मोदीले नेपाल भारतको सम्बन्ध सदियौंदेखि चलिरहेको उल्लेख गरिरहँदा थोरै भएपनि कमसेकम नाकाबन्दीको कुरा उठ्ला कि भन्ने अपेक्षा थियो, नागरिकसँग । तर त्यहाँपनि तै चुप मै चुप को अवस्था रह्यो । अत्यावश्यक मानवीय आवश्यकताका पाटोहरुलाई समेत नजरअन्दाज नगरी गरिएको अमानवीय व्यवहारको बारेमा न त यसअघि भारतले आधिकारिक रुपमा कुनै धारणा अघि सारेको छ, न त गल्ती नै भयो भन्ने अभिव्यक्ति सार्वजनिक गरेको छ ।

मोदीले जानकी मन्दिरमा पूजाआजा पनि गरे । जनकपुरमै उनलाई नागरिक अभिनन्दन समेत गरियो ।

उता मोदीले पर्यटन विकास र प्रवर्द्दनको लागि रामायण सर्किटबारे बताउँदै करोडौं पर्यटक भित्राउने विषयमा छलफल हुने बताइरहँदा मोदीले नेपालको जननिर्वाचित संविधान सभाले जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै करिब ६ महिना लामो अघोषित नाकाबन्दी गराएको विषयमा एक शब्द पनि उच्चारण गरेनन् । बरु उनले भाषणकै क्रममा समकक्षी केपी ओलीलाई ‘भाइसाप’ भनेर फकाउन खोजे । स्थायी सरकार भनिएको अहिलेको सरकारका नेता केपी ओलीलाई भारत भ्रमणमा बोलाएका नरेन्द्र मोदीले भव्य सत्कार गरेका थिए ।

त्यसैको ‘गुन’ तिर्न सरकारका तर्फबाट प्रम केपी ओलीले पनि भव्य स्वागत तथा सत्कार गरे । तर उनको स्वागत नेपाली जनताका लागि अपाच्य भयो । किनकि ६ महिना लामो नाकाबन्दी नेपाली जनताले भुल्ने कुरै थिएनन् । उता मोदी आउने चाँजोपाँजो मिलाउने तयारी भइरहेको थियो भने यता जनताले आक्रोश पोख्दै लेखिरहेका थिए – नाकाबन्दी अपराध थियो मोदी ज्यू ।
नाकाबन्दी अपराध थियो । र, अपराध गर्नेलाई अपराधी भनिन्छ । कुरोको चुरो यस्तै थियो ।

प्रधानमन्त्री मोदीले नेपाल भारतको सम्बन्ध सदियौंदेखि चलिरहेको उल्लेख गरिरहँदा थोरै भएपनि कमसेकम नाकाबन्दीको कुरा उठ्ला कि भन्ने अपेक्षा थियो, नागरिकसँग । तर त्यहाँपनि तै चुप मै चुप को अवस्था रह्यो । अत्यावश्यक मानवीय आवश्यकताका पाटोहरुलाई समेत नजरअन्दाज नगरी गरिएको अमानवीय व्यवहारको बारेमा न त यसअघि भारतले आधिकारिक रुपमा कुनै धारणा अघि सारेको छ, न त गल्ती नै भयो भन्ने अभिव्यक्ति सार्वजनिक गरेको छ ।

भारतले के बुझेको छ भने, नेपाली जनता नाकाबन्दीपछि बिच्किएका छन् । नेपालसँगको सम्बन्ध नाकाबन्दीभन्दा अघिको जस्तो बनाउनुपर्छ ।

मोदीले आफूले गरेको एउटा गल्तीको नेपालमा मात्र विरोध भएन, भारतमा पनि कतिपयले उनको विरोध गरेका थिए । कारण थियो – नेपालसँगको दूरी टाढा भयो, दबदबा कायम रहेन ।
यतिबेला दुई छिमेकी मुलुकबीच अघोषित खाडल बनेको छ । भूपरिवेष्ठित देशलाई नाकाबन्दी गर्ने मोदी सरकारको निर्णयप्रति नेपाली जनता चिढिएका थिए ।

आफूलाई असल छिमेकी भन्न रुचाउने भारतले गरेको बेइमानीको विरुद्ध नेपाल सरकारले कुटनीतिक प्रतिक्रिया दिन नसकेको कारण नै आज राजकीय भ्रमणमा हाम्रा कुटनीतिक रणनीतिक योजनाहरु प्रष्ट रुपमा उनका अगाडि राख्ने हिम्मत हामीसँग छैन । राम जानकी मन्दिर परिसरबाट आफ्नो सम्बोधनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “सीता विना भारतको कुनै धाम होइन राम नै अधुरो हुन्छन् ।”

मोदीले पहिलो पटकको नेपाल भ्रमणमा आउँदा भनेझैं यसपटक पनि भनेका थिए – नेपाल र भारतबीच रोटी बेटीको सम्बन्छ छ ।
रोटी र बेटीको सम्बन्धलाई लिएर मोदीको त्यतिबेला खुबै तारिफ भयो । तर, अहिले उही कुरा भन्दा धेरैले ‘नोटिस’ पनि गरेनन् । किनकि मोदीले आफ्नो विश्वसनीयता गुमाइसकेका थिए ।

एउटा भुपरिवेष्ठित राष्ट्र, जसलाई आफ्नै हुँ भन्ने छिमेकीले विश्वव्यापी मानवअधिकारको धज्जी उडाउँदै ६ महिनासम्म गरेको नाकाबन्दीले जनता रुष्ट छन् । उदाहरण प्रष्ट छ – मोदीले नेपालीलाई फकाउन खोजिरहेका छन् तर जनताले नाकाबन्दी भुलेका छैनन् ।

त्यसो त हामीलाई भारतसँगको सम्बन्ध बिगारेर पनि कुनै फाइदा छैन । तर चीनसँगको सम्बन्धलाई पनि नजिक बनाउन सक्यो भने मात्र मोदीको विकल्प भेट्न सकिन्छ । होइन भने, भोलि फेरि कुन निहुँमा भारतले नाकाबन्दी गरिदिन्छ र आफ्नो फाइदा लिन्छ, त्यसपछि फेरि नेपाली जनता फकाउन आउँछ भन्ने पत्तो हुँदैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?