तोडियो बायोमेडिकल टेष्टमा रहेको सिन्डिकेट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीमा जाने युवाहरुमाथि लगाइएको अतिरिक्त शुल्क तत्काल खारेज भएको घोषणा गरेका छन् । 

बिहिबार मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गर्दै मन्त्री विष्टले मलेसिया रोजगारीमा भएको लुटधन्दा अब बन्द हुने बताएका हुन् । मलेसिया रोजगारीका सबै सिन्डिकेट खारेज गर्न सुरु गरिएको उनको भनाई छ । पत्रकार सम्मेलनमा मन्त्री विष्टले मलेसिया रोजगारीका लागि गरिने बायोमेडिकल टेष्टमा रहेको सिन्डिकेट समेत तोडिएको घोषणा गरेका छन् । अहिले ३८ वटा स्वास्थ्य संस्थाहरुले बायोमेडिकल गराउने गरेका थिए ।  मलेसियाका बेस्टिनेट कम्पनीको सफ्टवेयर किनेर ३८ वटा स्वास्थ्य संस्थाले मात्रै बायोमेडिकल सेवा सञ्चालन गरिरहेका थिए । तर, बिहिबारबाटै यो सिन्डिकेट पनि तोडिएको घोषणा गरिएको छ । आगामि दिनमा नेपाल सरकारको मापदण्ड अनुसार दर्ता भई सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्थाले मेडिकल गराउन पाउने मन्त्री विष्टले बताए । 

नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने स्वास्थ्य परीक्षणका लागि अधिकतम ४ हजार ५ सय रुपैयाँ र भिसा शुल्कका लागि ७ सय नेपाली रुपैयाँ मात्रै लिन स्वीकृति दिएकोमा मलेसियामा रोजगारीमा जाने युवाहरुबाट अहिले विभिन्न शीर्षकमा प्रतिव्यक्ति १८ हजार ६ सय रुपैयाँ लिइँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?