एमाले माके एकतामा अन्तर्राष्ट्रिय कनेक्सन

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई नेपाल कम्युनिस्ट पार्टीको गठन भएको छ ।

दुईका अध्यक्ष समान हैसियतमा रहने गरी ९ सदस्यीय सचिवालय गठन गर्दै गठन भएको यो कम्युनिस्ट पार्टी सत्तामा दुई तिहाई बहुमतका साथ स्थापित भएको छ ।

यो एकताका बारेमा छलफल शुरू हुँदाका बखत, ढिलाई हुँदा र एकता सम्पन्न भएपछि पनि टिकाटिप्पणी हुनेछ ।

यो एकता टिक्छ र ? नेताहरूको स्वार्थ मिल्ला र? कसले मिलाइ दियो यिनलाई? अब अधिनायकवाद आउला? आदि इत्यादि टिप्पणीहरू हुन्छन् । यो स्वाभाविक हो ।

तर यी टिप्पणीहरू त्यसै भएका होइनन् ।सबैका पछाडि केही कारणहरू हुन्छन् ।भलै ती कारणहरू शीर्ष नेताका स्वार्थहरू नै किन नहोउन् । कारण त हुन्छन् । राजनीतिक पार्टीको निर्माण र विनिर्माण दुबैमा आन्तरिक र बाह्यकारणहरू हुन्छन् ।

हामी कहाँ संघीय लोकतान्त्रिक गणतन्त्र कहाँबाट आयो? राजतन्त्रको अवसान पछि आएको हो । राजतन्त्र त्यसै अवसान भएको हो र? निसन्देह होइन् । आन्तरिक र बाह्यकरणहरूले नै राजतन्त्रको अवसान भएको हो । नेपाल र भारतको सन्दर्भलाई पहिले नियालौं ।

भारतमा अंग्रेज छोडो आन्दोलनमा बलियो शक्तिको रूपमा यो वा त्यो रूपमा अहिलेसम्म सत्तामा थियो । भारतीय जनता उही हुन् । मतदान गर्ने पार्टी फेरिएको छ । भारतीय जनता पार्टी सत्तामा आएको छ ।

त्यहाँ स्वतन्त्रता पछिका पुस्ताले हाँकेको  भारतीय जनता पार्टी सत्तामा आएको हो । त्यहाँ पनि जनतालाई स्थिरता चाहिएको छ । आर्थिक विकास र समृद्धि चाहिएको छ । नेपालको राजनीति भारतको राजनीतिक परिवर्तनसँग सीधा सम्बन्ध राख्ने राजनीति हो ।

नेपालका राजनीतिक दलका अहिलेसम्मका शीर्ष नेतृत्वहरूको सीधा सम्बन्ध भारतीय नेतृत्वहरूसँग रहिआएको छ । कतिपय सन्दर्भमा यी दुई देशका नेताहरूको निकटतम सम्बन्धमा कमी आएको छ ।

भारतको कांग्रेस पार्टी, कम्युनिस्ट पार्टी र समाजवादी पार्टीहरूसँगको सम्बन्ध नेपालका कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका नेताहरूको थियो । पुराना भनिएका राप्रपाका नेताहरूको सम्बन्ध पनि नेपाली कांग्रेसका नेताहरूको राम्रै थियो । तर त्यो सम्बन्धको निकटतामा केही अन्तर आएको छ ।

बलियो सत्तारूढ पार्टी भारतीय जनता पार्टी आएपछि नेपाली शीर्ष नेताहरूको सम्बन्ध पहिलेको जस्तो रहेन् । तर नेपालको माओवादी आन्दोलनको बैठानको राजनीति भारतमा भारतीय जनता पार्टीका नेता अटलबिहारी बाजपेयी सरकारका रहेका बेला नै भएको मानिन्छ ।

१२ बुँदे दिल्लीको सम्झौता त्यसै भएको थिएन होला ?

यो सम्झौता हुन अघि नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहले माओवादी आन्दोलनालाई राजनीतिक समस्या भनेका थिए । सिंहको त्यो अभिव्यक्ति त्यतिखेरका औपचारिक पार्टीहरूका नेताहरूको भन्दा पहिले सार्वजनिक भएको थियो । नेपाली कांग्रेसकै पूर्व नेता मध्येका एक थिए सिंह र उनको सम्बन्ध भारतीय नेतृत्वसँग पनि थियो ।

त्यतिखेर सत्तारूढ दलहरूले माओवादीलाई आतंकवादी पगरी गुथाएका थिए । त्यतिबेला माओवादी आन्दोलन राजनीतिक समस्या भन्नुको राजनीतिक र कुटनीतिक महत्व १२ बुँदे दिल्ली सम्झौताबाट पुष्टि हुन्छ । यो सम्झौताले नेपालको राजनीतिमा भारतको कनेक्सन रहेको पुष्टि गर्छ ।

यसअघि नेपालको गतिविधिमा चीन बोल्दैन्थ्यो । संविधान सभाको निर्वाचन भएयता बोल्न थालेको देखिएको राजनीतिज्ञहरूले नै भन्न थालेका हुन् ।

केही वर्ष अघि कम्युनिस्ट नेता विष्णुबहादुर मानन्धरले एक कार्यक्रममा भनेका थिए “ चीन अब साइलन्ट चाइना होइन टकिंग चाइना बनेको छ ।” यताका केही  वर्षहरूमा चिनियाँ नेताहरू, पत्रकारहरू, सैनिक पदाधिकारीहरूको आगमन भएको पाइन्छ ।

संख्या र पटकको हिसाबले पछिल्ला समयमा चीनको सम्बन्ध व्यापक भइरहेको छ । सम्पन्न निर्वाचनका क्रममा नेपालका लागि चिनियाँ राजदूत नेतृत्वको टोली  तराई मधेशको क्षेत्रमा भ्रमण गरेको थियो । चिनियाँ राजदूतले निर्वाचनमा त्यहाँका राजनीतिक दल र तिनका नेतालाई सक्दो सहयोग गरेको चर्चा तराई मधेशमा नभएको होइन् ।

नेपालको राजनीतिमा भारत र चीनको कनेक्सनका यी केही विषयहरू हामी समक्ष छन् ।

एसियाली कुटनीतिक आयाममा परिवर्तन भइरहेको छ । उत्तर कोरियासँग अमेरिकाले वार्ता र संवाद गर्न खोजेको छ भने अर्को तर्फ इरानसँग अमेरिकाले गरेको परमाणु सम्झौता फिर्ता लिएको छ ।

यसबाट इरान क्रुद्ध मात्रै बनेको छैन् अमेरिकाको सहयोगी मानिएका युरोपेली देशहरूले अमेरिकाको विरोध गरिरहेका छन् । उत्तर कोरिया र इरान एसियाली कुटनीतिक आयामका हिस्सा हुन् । 

अर्कोतर्फ उत्तर कोरिया र दक्षिण कोरियाबीचको ऐतिहासिक शिखर वार्ता हुन अघि मात्रै होइन् यो घटना परिघटनाको निर्माण भइरहँदा तत्कालिन एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललगायतका केही नेपाली नेताहरूको टोली उत्तर कोरियाको भ्रमण गरेको थियो ।

घटना क्रमलाई नियाल्ने हो भने एमाले नेता नेपालको सो भ्रमण पछि अमेरिका उत्तर र दक्षिण कोरियाबीचको कुटनीतिक गतिविधि तीव्रभइ उत्तर कोरिया र अमेरिकी नेताबीचको शिखर सम्मेलनको आधार तय हुन पुग्यो ।

अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसका पदासिन भएका बेला न्यूर्योकस्थित जुम्ल्याहा गगनचुम्बी महलमा विमानबाट हमला गरिएको थियो । त्यो हमलाका बेला तत्कालीन अमेरिकी राष्ट्रपति बुसले विश्वका शत्रु समूहमा(एक्सिस अफ इभिल्स) इरान , इराक र उत्तर कोरियालाई किटानी गरेका थिए ।

त्यसयता इराकका सद्दाम हुसेनको पतन अमेरिकी सहयोगमा भइसकेको छ । इरानको परमाणु ऊर्जा उत्पादन गर्ने परियोजनालाई स्थगित गराउने गरी तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाका बेला भएको सम्झौतालाई वर्तमानका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिर्ता लिएपछि अन्तर्राष्ट्रिय कुटनीतिक आयाममा केही उथलपुथल भइरहेको अनुमान लगाउन सकिन्छ ।

विश्वको शक्तिशाली राष्ट्रको रूपमा उदीयमान राष्ट्र चीन र चीनलाई पछयाउँदै शक्ति राष्ट्र बन्ने चाहना राखेको भारत नेपालका आसन्न छिमेकीहरू हुन् ।

संविधान कार्यान्वयन गर्नका लागि भएका निर्वाचनबाट निर्वाचति प्रधानमन्त्रीको सपथ लिएपछि भारत भ्रमणमा पुगेका केपी शर्मा ओलीले भारतको प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो गरी आए ।

भारतका प्रधानमन्त्री मोदीले नेपालको भ्रमणमा आउने भनेपछि मोदीको चीन भ्रमण भयो । यो भ्रमण अकस्मात भएको बुझिन्छ । मोदीको नेपाली भ्रमण नजिकिदै जाँदा एसियाली कुटनीतिक आयाममा ठूलो परिघटना देखा प¥यो ।

चीनका प्रधानमन्त्री दक्षिण कोरियाका राष्ट्रपति र जापानका प्रधानमन्त्रीबीच त्रिपक्षी वार्ता सम्पन्न भयो । दक्षिण कोरियाली राष्ट्रपति फर्केपनि चिनियाँ प्रधानमन्त्रीले जापानी सम्राटसँग भेटघाट गरे । अनि चीनको दक्षिण पूर्व सामुद्रिक विवाद मिलाइएको देखियो ।

दक्षिण कोरियाली राष्ट्रपतिले भने “ यो क्षेत्रको शान्ति र समुद्धिका लागि तीन देशहरूले निकट भइ काम गर्नेमा म विश्वस्त छु ।”

नेपालको सन्दर्भमा भारत र चीनको चासो अन्य देशको तुलनामा बढी हुन स्वाभाविक छ । यसैक्रममा खुला सिमानका कारण भारतको भन्दा चीनको चासो बढी हुनु स्वाभाविक छ ।

अमेरिकालाई उछिनेर शक्तिराष्ट्रको शिखरमा पुग्ने समय चीनका लागि निकट आइरहेको विश्वका विज्ञहरूको अभिव्यक्ति सार्वजनिक भइआएका छन् । चीनले पनि आफ्नो मुद्राको अन्तर्राष्ट्रि बजारमा विनिमयका लागि परिचित गराइ शाक्तिशाली बनाउने  काम गरिरहेको छ ।

चीन शक्तिशाली राष्ट्रमा भइसकेपछि त्यसलाई जोगाइ राख्नुपर्ने  आवश्यकता हुन्छ । अमेरिकाले शीर्ष स्थान गुमाएका बेला हुने छटपटी र आवेगलाई शान्त गर्न नसके चीनका लागि उपद्रो गर्ने काम  गर्न सक्दैन भने अमेरिकीहरूलाई विश्वास छैन् । कतिपय अमेरिकीहरूले अमेरिकालाई त्यसो नगर्न गरेको आग्रहबाट  यसको सम्भावनालाई इन्कार गर्न सकिदैन् ।

यसो गर्न नेपाल उपयुक्त स्थल हुन सक्छ । त्यसैले यहाँ स्थिर सरकारको चाहना चीनको हुन स्वाभाविक देखिन्छ । नेपालमा भारतको वर्चस्वलाई ध्यान दिँदै आएको चीनले भारतालाई उसका अन्य आसन्न छिमेकीहरूबाट घेरा हालिदिएको छ ।

नयाँ दिल्ली स्थित सी राजामोहनजस्ता विश्लेषकहरूका अनुसार भारतको घरमा हाती छिरेको छ । यसो भन्नुको पछाडि भारतको घरमा चीन पसेको भन्नु हो ।

अर्को तर्फ चीनसँग पूर्णाकारको युद्ध नै लडिकसेको भारतले फेरि विद्यमान अवस्थामा युद्ध लडने मुख्र्याइ दोहो¥याउन सक्दैन् । यी सन्दर्भका कुटनीतिक खेलहरूको परिणति नै मोदीको नेपाल भ्रमण पछि  एमाले र माकेको एकतालाई बुझ्दा यो एकतामा अन्तर्राष्ट्रिय कनेक्सन छ  ।

अन्तर्राष्ट्रिय राजनीतिक एवं कुटनीतिकको परिणामस्वरूप इतिहासकै दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण भएकोमा शंका भने तत्काल देखा पर्दैन् । आगामी दिनमा यस किसिमको राजनीतिक ध्रुवीकरण हुँदै अन्य राजनीतिक दलबीचको एकता सम्भव हुँदैन भन्ने सम्भावनालाई इन्कार गर्न सकिदैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?