सरकारी एक्सनः सिन्टिडकेट लाद्ने ४० जना म्यानपावर कम्पनी सञ्चालकमाथि ठगी मुद्दा

काठमाडौं । वैदेशीक रोजगार ब्यवसायका नाममा सिण्डिकेट लाद्ने ४० जना ब्यवसायीहरु विरुद्ध पाँच दिनको म्याद थप गरी ठगी मुद्धा अन्तरगत कानुनी कारवाहीको तयारी शुरु गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र परिसर ललितपुरले बैदेशीक रोजगारका नाममा नेपाली श्रमिक युवाबाट अतिरिक्त शुल्क लिने र स्वास्थ्य परिक्षणमा एकाधिकार जमाउने म्यानपावर सञ्चालकहरुलाई पक्राउ गरेको थियो ।
प्रहरीले काठमाडौं र ललितपुरमा रहेका २६ वटा म्यानपावर कम्पनीका ४० जना सञ्चालकलाई आइतवार र सोमवार पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा ललितपुरबाट चार र काठमाडौंबाट ३६ जना ब्यवसायीहरु छन् । प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले बैदेशीक रोजगारको नाममा ठगी गर्ने ३७ वटा कम्पनीमा छापा मारिएको जानकारी दिए  ।
ती मध्ये छ वटा म्यानपावर कम्पनीका सञ्चालकहरु कम्पनीमा ताला लगाएर फरार भएका छन् भने पाँचवटाको कार्यालयमा छापा मारिएको प्रहरीले जनाएको छ । अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई पाँच दिनको म्याद थप गरिएको परिसरले जनाएको छ  ।
ठगी गर्ने म्यानपावर कम्पनीमाथिको कारवाही अभियान निरन्तर जारी रहने प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?