छाडा चौपायाको ‘गोठ’ बन्यो सडक, सरकारी निकाय मौन ! (फोटो फिचर )

काठमाडौँ – आज दिनभरीमा यति काम सक्छु भनेर योजना बनाएर सफाचट भएर आफ्नो सावारी साधन ‘स्टार्ट’ गर्यो। साँघुरो सडकमा अटाई नअटाई सवारी साधन । धुलो, धुँवा, सडकभरी लत्रेका तार । सवारीका अनावश्यक टाटा र टुटु गर्ने हर्न । त्यसमाथि छ्याप्ल्याङ छुप्लुङ गर्दै हिँड्दा पैदल यात्रुलाई छिटा परेको निहुँमा पर्ने झगडा । उताबाट जान खोज्यो ट्राफिक ले सिठ्ठी बजाएर ‘रोक’ भन्ने संकेत दिन्छ । यताबाट जान खोज्यो छाडा छोडिएका पशु चौपायाले बाटो छेकेर हैरान !

…………………………………………

पछिल्लो समय सार्वजनिक सडकमा छाडा चौपाया निकै बाक्लो रुपमा देखिन्छ । उपत्यकाका अधिकांश सडकमा छाडा रुपमा छोडिएका गाईवस्तुले सार्वजनिक सडकलाई गोठ बनाएका छन् ।

एकचोटी थोरै बल लगाएर उफ्रिँदा वारपार गर्न मिल्ने साँघुरा सडकले बढ्दो सवारी चाप थेग्न सकेको छैन । र त १५ मिनेटमा पुिगने गन्तव्यको लागि पूरा ६० मिनेट खर्चिनुपर्छ । 

छाडा पशु चौपायका कारण सडकमा दिनहुँ दुर्घटना पनि बढिरहेको छ । साँघुरा सडकमा हतारमा दगुर्ने सवारी साधनले छाडा चौपाय जोगाउन ‘झ्याप्प ब्रेक’ लगाउँछन् । यसकारण पनि सवारीसाधन भित्र रहेका यात्रुहरु पनि घाईते हुने गरेका उदाहरणहरु धेरै छन् । 

६० प्रतिशत दुर्घटनाको कारण छाडा चौपाया
काठमाडौँ उपत्यका र छेउछाउका स्थानहरुमा गाईपालक संख्या बढेसँगै थारा गाई तथा साँढे र बाच्छाबाच्छीलाई सडकमा छाडा छोड्ने क्रम बढ्दो छ । खासगरी दुध दिँदासम्म पाल्ने त्यसपछि सडकमा छोडिदिने परिपाटिका कारण पनि सार्वजनिक सडकमा पशु चौपाया दिनानुदिन बढिरहेका हुन् ।

छाडा चौपायकै कारण ६० प्रतिशत सडक दुर्घटना हुने गरेको तथ्याङ्क छ । करिब दुई हजारभन्दा अधिक बेवारिसे र अलपत्र अवस्थामा गाई साँढे तथा साना बहर सडकमा रहेका छन् ।

खाने र बस्ने अभावमा रहेका रोगी, घाइते, भोका तथा पानी खान समेत नपाएका दिनहुँ दुर्घटनामा पर्ने गरेका छाडा चौपायलाई पाल्ने व्यवस्था मिलाउन राजधानीमा पर्याप्त गौशाला छैन । छाडा पशु चौपायको कारण पैदल हिँडडुल गर्नेलाई समेत समस्या भएको छ ।

कालीमाटी तरकारी बजार आसपास र बल्खु तरकारी  बजार आसपास यस्ता चौपायहरु खाने कुराको खोजीमा भौतारिरहेका देखिन्छन् । टेकुका व्यापारी विमल गौतमका अनुसार छाडा पशु चौपायले पसल वरपर फोहोर गर्ने, बिक्रीका लागि राखेका सागसब्जी खाईदिने तथा पसलका सिसा फुटाईदिने गरेका छन् । 

त्यसो त छाडा चौपाया लाई ‘कान्जीहाउस’ खोलेर थुन्ने देखि नियन्त्रण गर्ने काम भनेको महानगरपालिकाको हो तर छाडा पशु चौपायाको कारण सवारी आवगमन रोकिदा समेत सरकारी निकाय रमिता हेरेर बस्ने गरेको छ । 

एकातर्फ छाडा पशु चौपायाको कारण सडक असुरक्षित बन्दै गईरहेको छ । अर्कोतर्फ स्थानीय, व्यापारी, पैदलयात्रुले निकै सास्ती खेप्नुपरेको छ । यो सँगै महानगर ‘कुरुप’ बन्दै गईरहेको छ । 
‘हुन्छ’ ‘गर्छौ’, ‘अब तत्काल हुन्छ’  भनेका काम नगर्ने सरकारबाट नागरिकले त्यति धेरै अपेक्षा पनि राखेका छैनन् । तर सडक भनेको साझा सम्पत्ति हो । यसको प्रयोग सबैले गर्न पाउनुपर्छ । सँगै सार्वजनिक सडकमा सुरक्षित तवरले यात्रा गर्न पाउनु आम नागरिकको अधिकार पनि हो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?