नुवाकोटको थानसिङमा अाैषधी अभाव

त्रिशुली : नुवाकोटको ककनी गाउँपालिका–८ स्थित थानसिङ स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । 

जिल्ला जनस्वास्थ्य र गाउँपालिकाका कार्यालयले आवश्यक औषधि नपठाउँदा औषधि अभाव भएको स्वास्थ्यचौकीका इञ्चार्ज सुरेश गैरेले बताए। इञ्चार्ज गैरैका अनुसार स्वास्थ्यचौकीमा नियमित हुनु पर्ने ११ थरीका औषधि सकिएको छ। 

स्वास्थ्यचौकीमा आँखामा राख्ने औषधि सिप्रो, पेट दुखेको बेला खाने ट्याबलेट वुसकोवान, उल्टी रोक्ने मेटोक्लोरोप्रामाइड, एभिल सुई, डाइजिन ट्याबलेट, भिटामिन बी कम्प्लेक्स, कालामाइन लोसनलगायत औषधि नभएको इञ्चार्ज गैरैले जानकारी दिए। 

सामान्य औषधिसमेत स्वास्थ्य संस्थामा नहुँदा सेवाग्राहीमा मारमा परेका छन् । स्वास्थ्य संस्थामा सेवा उपलब्ध नहुँदा यहाँका तीन घण्टाको दूरीमा अवस्थित ककनी प्राथमिक स्वास्थ्यचौकी वा थानसिङको छहरेमा रहेको निजी स्वास्थ्य क्लिनिकमा मानिस धाउन बाध्य भइरहेको स्थानीयबासीले बताएका छन् । 

ककनी गाउँपालिका – ८ का वडाअध्यक्ष तथा स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष शेषमान लामाले स्वास्थ्यचौकीलाई सँधै आवश्यक पर्ने र जिल्लाबाट नआउने औषधिको सूची बनाएर किन्नका लागि वडा कार्यालयले पनि पहल गर्ने बताए। उनले सरकारले तोकेका स्वास्थ्यचौकीमा निशुल्क वितरणको औषधि ३८ थरीको सूचीभन्दा बाहेक स्थानीयबासीको माग धेरै भएका औषधि खरिद गरी निशुल्क वितरण गर्ने तयारी भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?