बुटवलमा ‘जिअोलोजिकल पार्क’ बनार्इने

रुपन्देही : बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने भौगर्भिक उद्यान बनाउने तयारी शुरु भएको छ । 

“वन विज्ञान र वातावरणका विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने पार्क बनाउने बारेमा डिपीआरसहितको लिखित प्रस्ताव आउने छ, त्यसैले पनि हामीलाई ठूलो उत्साह जागेको छ”, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने। 

उनले यस क्षेत्रमा प्रदेशस्तरको उद्यान बनाउने मौखिक प्रस्ताव उपमहानगरपालिकाले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष गरेको उल्लेख गर्दै प्रदेश सरकारले तत्काल जग्गा खोज्न निर्देशन दिएको बताए ।

 सो उद्यानका लागि शिवनगर सामुदायिक वन क्षेत्र, हिलपार्क परिषद् क्षेत्र र मणिमुकुन्द सेवा उद्यान क्षेत्रका साथै उपमहानगरपालिकामा पर्ने अन्य क्षेत्रका बारेमा अध्ययन भइरहेको छ । मुख्यमन्त्री पोखरेल, प्रमुख सुवेदी, योजना प्रमुख इञ्जिनीयर सुमन श्रेष्ठसहितको टोलीले सम्भावित तथा प्रस्तावित क्षेत्रको अवलोकन गरेको थियो । 

उपप्रमुख गुमादेवी आचार्यले प्राविधिक अध्ययनपछि उद्यान कहाँ राख्ने भन्ने विषयमा निश्चित हुने बतार्इन । बुटवलको झण्डै ५४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ भने वातावरण सन्तुलित राख्न करीब ४३ प्रतिशत भूमि वन क्षेत्रले ढाक्नुपर्ने बताइएको छ । 

उद्यानका लागि उपयुक्त जग्गा निश्चित हुनेबित्तिकै डिपीआर तयार हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिए। भूगर्भीय उद्यानबारेमा अध्ययन गर्न डा. सागर न्यौपानेसहितको विज्ञ टोलीले हालै बुटवलका विभिन्न क्षेत्रको अध्ययनसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?