बर्डफ्लू भेटिएपछि आत्तिए कुखुरापालक : अपनाउनुस् यी सावधानी

के हो बर्ड फ्लु ?
‘एभियन इन्फ्लूएञ्जा’ भाइरसको छोटकरी रुप बर्ड फ्लू हो । एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो ।

बर्ड फ्लू पंक्षीहरूमा लाग्ने अति संक्रामक, घातक सरुवा रोग हो । बर्ड फ्लूको सङ्क्रमण भेटिएको विश्वको पछिल्लो ६६ औं मुलुक हो नेपाल । थाइल्याण्ड, बङ्गलादेश र इण्डोनेशियामा यसले विकराल अवस्था निम्त्याएको छ । बर्ड फ्लू कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा लाग्ने सरुवा रोग हो, कहिलेकाहीँ यो रोग सुँगुरमा पनि भेटिएको पाइन्छ ।

खोकीको सङ्क्रमण जस्तै हो बर्ड फ्लू, जसले कुखुरा तथा पंक्षीहरूमा विभिन्न समस्या निम्त्याउँछ । यो रोग संक्रमण भएको ४८ घण्टाभित्र कुखुरा (फार्मको ९० देखि १०० प्रतिशतसम्म कुखुरा मर्न सक्छन् ।  

मानिसमा सर्छ ? 
सन् १९७८ मा सर्वप्रथम पंक्षीमा देखिएको यो रोग सन् १९९७ मा मानिसमा देखिएको हो । सामान्यतया यो भाइरस मानिसमा विरलै देखा पर्दछ । तर रोग लागेका कुखुरा, हाँस वा अन्य पंक्षीसँग असावधानीपूर्वक र प्रत्यक्ष रूपमा सम्पर्कमा आउने तथा कुखुरासँग खेल्ने बच्चामा समेत सर्न सक्ने सम्भावना धेरै हुन्छ ।

यसका साथै बर्ड फ्लूको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, ¥याल, सूली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्दछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार एक दशकमा बर्डफ्लु संक्रमणका कारण ३ सय ५९ जना को मृत्यु भइसकेको छ । यी सबै प्रयोगशाला प्रमाणित संक्रमणमा देखिएको मृत्यु हो । 

मृत्यु हुनेहरू बंगलादेश, पाकिस्तान, म्यान्मार, चीन, थाइल्यान्ड , कम्बोडिया, जिबोटी, इजिप्ट, इन्डोनेसिया, इराक, लाउ पिपुल्स डेमोक्रेटिक रिपब्लिक, नाइजिरिया, टर्की भियतनाम, अजरबैजानका नागरिक हुन् । विश्वमै इन्डोनेसियामा सबैभन्दा बढी अर्थात् १ सय ५९ जनाको यही संक्रमणका कारण मृत्यु भएको छ । बर्डफ्लू मानिसमा सरेमा महामारीको रुप लिन्छ । बर्डफ्लुको संक्रमण भएपछि मानिसमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, केहीमा फोक्सोमा गम्भीर असर पर्न गई निमोनिया समेत हुन्छ ।

यसका साथै आँखाको संक्रमण, फ्लु जस्ता लक्षण अर्थात् ज्वरो, घाँटीमा खसखस, खोकी मांसपेसी दुख्नु वा छातीमा संक्रमण हुन सक्छ । मानिसमा यो रोगको खास उपचार छैन । 

कसरी सर्छ यो रोग ? 
झापा जिल्लाबाट सुरु भएको बर्डफ्लुको सङ्क्रमण १८ जिल्लामा देखा परे पनि यसको संक्रमणबाट मानिसको मृत्यु नभएको निर्देशनालयले पुष्टि गरेको छ । २००६ मा भारतमा पहिलो पटक देखिएको बर्डफ्लु २००९ मा नेपालको झापा जिल्लामा पहिलो पटक भेट्टिएको थियो । यो रोगका तीन अवस्था रहने गरेको छ । पहिलो पन्छीबाट पन्छीमा, दोस्रो पन्छीबाट मानिसमा र तेस्रो मानिसबाट मानिसमा सर्न सक्छ । 

  • रोगी पंक्षीले खोक्दा नजिक रहने पंक्षीमा भाइरस सर्न सक्छ । तर एक ठाउँबाट अन्यत्र हावाको माध्यमबाट भने भाइरस सर्दैन ।
  • रोगी पंक्षीको सुलीमा अत्यधिक रूपमा भाइरस रहन्छ । सुली टाँसिएका सम्र्पूण वस्तु जस्तै अण्डा, अण्डाको क्रेट, दानाका बोरा, फार्ममा जाने व्यक्तिको जुत्ता, हात र सुली टाँसिएको सवारीसाधनको टायर आदिको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा रोग सर्न सक्छ ।
  • कुखुराको मासुमा हुने रसमा पनि भाइरस हुने भएकोले रोग लागेको ज्यूँदो कुखुरा र त्यसको काँचो मासु एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा टाढा टाढासम्म पनि यो भाइरस फैलिन सक्छ ।
  • प्रदूषित पानीमा ४ देखि ३० दिनसम्म पनि यो भाइरस जीवित रहने भएकाले एक ठाउँबाट बगेर दूषित पानी अर्को ठाउँमा जाँदा रोग सर्न सक्छ ।
  • यदि बर्डफ्लु संक्रमित मुलुकबाट बसाई सरेर आउने चराहरू छन् भने तिनले आफूसँग भाइरस बोकेर ल्याउन सक्छन् ।                                                                                                   

कसरी थाहा पाउने ? यी लक्षणहरु 
रानीखेत तथा अन्य केही रोगका लक्षणहरू यस रोगसँग मिल्दाजुल्दा हुन्छन् । प्रयोगशालामा परीक्षण नगरी लक्षणको आधारमा रोगको निक्र्योल गर्न सकिँदैन । रोगबाट हुन सक्ने ठूलो क्षतिबाट बच्न निम्न लक्षण देखिने बित्तिकै नजिकको पशु सेवा केन्द्र वा जिल्ला पशु सेवा कार्यालयमा खबर गर्नु उचित हुन्छ ।

  • अकास्मात् र अस्वाभाविक रूपमा एकैचोटि धेरै पंक्षीहरू मर्न थालेमा ।
  • पंक्षीले स्वाँ स्वाँ गर्ने, खोक्ने र सिँगान, र्याल  आदि बगाउने गरेमा ।
  • टाउको सुन्निएमा, सिउर ÷लोती नीलो रङको भएमा ।
  • फुल पार्न बन्द भएमा वा कमजोर बोक्रा भएको फुल पार्ने गरेमा ।
  • पक्षघात भएमा ।
  • दाना नखाने, तिर्खाउने र पखाला चलेमा । 

कसरी बच्ने त ?

  • कुखुरा लगायत पन्छीजन्य वस्तु उपयोगमा सावधानी अपनाउने । 
  • मास्क लगाएर मात्रै हिँडडुल गर्ने ।
  • आफू बस्ने वरपर कुनै पनि पंक्षीहरु मरेको देख्नेवित्तीकै सचेत हुनुहोस् स्वविवेकले व्यवस्थापनमा नलाग्नुहोस् । बरु तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरुमा खबर गर्नुहोस् ।
  • बालबालिकालाई त्यस्ता पंक्षीहरुको छेउछाउमा जान नदिने । 
  • कुखुरा तथा पंक्षीको मासु राम्ररी धोईपखाली राम्ररी पकाएर मात्रै खाने ।
  • मरेका कुखुरालाई नाङ्गो हातले नछुने, खोरमा जाँदा माक्स र ग्लोब पन्जा लगाएर जानुपर्छ र फर्केपछि राम्ररी साबुनपानीले हात धुनुपर्दछ ।

नेपालको कुल ग्रार्हस्थ उत्पादनको करीव ४.५ प्रतिशत हिस्सा कुखुरापालन व्यवसायले ओगटेको छ । तर विभिन्न कारणले गर्दा कुखुरापालक कृषक पलायन हुने स्थितिमा पुगेका छन् । उत्पादन लागतको विचार नगरी मिलेमतोमा भाउ घटाईनु, दानाको भाउ अवैज्ञानिक तरिकाले बढाउनु राम्रो जातका चल्ला आयात नहुनु दानाको गुणस्तरका सम्बन्धमा कडाई नहुनु पंक्षी नीति लागू नहुनु पोल्ट्री फर्मको बिमा तथा किसानलाई सरल ऋणको व्यबस्था नहुनु जस्ता समस्या झेलेका कृषक राजधानीमा आंशका गरिएको बर्ड फ्लु पुष्टि भएपछि झनै समस्यामा परेका हुन् । ‘अहिले बर्ड फ्लुका कारण मानिसले कुखुराको मासु खाँदैन भनेर एकातर्फ व्यापारीले सस्तो मोलमोलाई गर्छन् । अर्कोतिर मिडियामा आउने समाचारका कारण पनि मानिसहरु कम उपभोग गर्छन् ।’ धादिङका कुखुरापालक कृषक सूर्य आचार्यले गुनासो गरे । –एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?